कारोबार संवाददाता
आइतवार, बैशाख २, २०७५
472

नेपाली कांग्रेस जिल्ला कार्यसमिति गुल्मीले गाउँ जाने अभियान चलाउने भएको छ । अभियानकै रुपमा ५० दिनसम्म गरिब, दलित तथा पिछडिएको वर्गको घरमा गएर बस्ने निर्णय गरिएको नेपाली कांग्रेस जिल्ला कार्य समिति गुल्मीका सचिव खिलध्वज पन्थीले जानकारी दिए ।
‘नेपाली कांग्रेसको आह्वान, गाउँमा जाउँ– गाउँमै रमाऔँ, ५० दिने महाअभियान’ नाराका साथ कांग्रेस गाउँ जान लागेको हो । अभियानअन्तर्गत गुल्मी जिल्लाका १२ स्थानीय तहका ९३ वटै वडामा कांग्रेसका एक-एक जना प्रतिनिधि गरिब–दलितका घर जाँदैछन् । सात हप्ते अभियानलाई दुई चरणमा विभाजन गरिएको छ ।

पहिलो चरणमा तीन हप्तासम्म गाउँकै गरिबका घरमा बस्ने, दोस्रो चरणमा एक हप्ता समीक्षा र तेस्रो चरणमा दोस्रो चरणको समीक्षाले कार्यक्रम निर्धारण गर्ने पार्टी सचिव पन्थीले जानकारी दिए । गत फागुन २७ गतेको बैठक तथा वडा सभापति र सचिवहरुको चैत ६ गते बसेको भेलाले ५० दिने महाअभियान गर्ने निर्णय गरेको थियो । अभियानमा नेपाली कांग्रेसका विभिन्न जिल्लास्तरीय नेता तथा उसका भातृ संगठन नेविसंघ, तरुण दल, महिला संघ लगायतका नेताहरु पनि सहभागी हुनेछन् ।
नेपाली कांग्रेसले संगठन कमजोर भएको भन्दै संगठन सुदृढिकरणको लागि अभियान थालेको पार्टी सचिव पन्थीले बताए । नेपाली कांग्रेसका भातृ तथा शुभेच्छुक संस्थाहरुलाई क्रियाशील बनाई संगठनलाई चुस्त–दुरुस्त बनाउन, लैंगिक, जातीय, वर्गीय तथा सामाजिक कुसंस्कारविरुद्ध जनजागरण अभिवृद्धि गर्न, ग्रामिण समस्याहरु अनुभूत गर्न अभियानको सुरुवात गर्न लागिएको पार्टी सभापति भुवन प्रसाद श्रेष्ठले जानकारी दिए ।