Logo

मुखले भनेर मात्रै समृद्धि सम्भव छैन : अशोक राई

संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले समृद्धि मुखले भनेर मात्रै सम्भव नरहेको जिकिर गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय लोकतान्त्रिक ट्रेड यूनियन महासंघलाई पार्टी प्रवेश गराउन आयोजित पत्रकार सम्मेलनमा नेता राईले यस्तो जिकिर गरेका हुन् ।
उनले भने, “पछिल्लो समयमा सरकार र प्रतिपक्षले समृद्धि र विकासका बारेमा ठूलाठूला कुरा गरेको सुनिन्छ, समृद्धि मुखले भनेर सम्भव हुँदैन, समृद्धि प्राप्त गर्न काम गर्नुपर्छ । विकास गर्नको लागि सरकार लगनशिल र गतिशिल हुनुपर्छ । संविधानको सफल कार्यान्वयन गर्नको लागि सरकार नै लागिपरेको देखिँदैन ।”
राप्रपा ‘राष्ट्रवादी’को भातृ संगठनका रुपमा रहेको ‘राष्ट्रिय लोकतान्त्रिक ट्रेड यूनियन महासंघ ‘स्वतन्त्र’लाई आफ्नो पार्टीमा प्रवेश गराउँदै राईले संघीय समाजवादी फोरम नेपालको विस्तार भएको बताए । उनले अघि थपे, “जीवन संघर्षपूर्ण छ साथीहरू ! वर्गीय, जातीय, धार्मिक, लैंगिक, क्षेत्रीय विभेदहरुको अन्त्य गर्नको लागि हामीले राजनीति गरिरहेका छौं । सबै प्रकारका विभेदको मुक्ति र पीडितहरुको एकता नै हाम्रो मूल लक्ष्य हो । निरन्तर श्रमिक वर्गको हितका निम्ति लड्नुपर्ने छ । श्रमिक वर्गका वर्गिय मागहरुको सम्बोधन गर्नको लागि हाम्रो पार्टी मैदानमा छ ।”

प्रतिक्रिया दिनुहोस्