धर्मेन्द्र कर्ण
शुक्रवार, श्रावण १६, २०७७
476

जनता समाजवादी पार्टीको शीर्ष नेतृत्वमाथि कार्यकारिणी समितिलाई दोब्बर बनाउन दबाब बढिरहेको छ । संघीय परिषद् अध्यक्षको चयन गरी पार्टीका विभिन्न संरचनालाई पूरा गर्नुपर्ने कार्यमा यो दबाबले समस्या निम्त्याइदिएको छ ।
महन्थ ठाकुरलाई एक नम्बर कार्यकारी अध्यक्ष र दुई नम्बर उपेन्द्र यादवलाई बनाएर पार्टी एकीकरणको प्रमाणपत्र निर्वाचन आयोगबाट प्राप्त गरेको जसपामा कार्यकारिणी समितिको विवाद बढ्न थालेको हो ।

राष्ट्रिय जनता पार्टीका ६ जना तत्कालिन अध्यक्ष मण्डलका ४ जना सदस्यहरूको असन्तुष्टिले समस्या उत्पन्न भएको हो । कार्यकारिणी समितिलाई दोब्बर बनाएर यो समस्या समाधान गर्नुपर्ने स्थिति पार्टीभित्र बनेको छ । यसबाट पार्टीका अध्यक्ष ठाकुरलाई समस्या बढेको बताइएको छ ।
यस विषयबारे जानकार एक नेताका अनुसार तत्कालीन राजपाका अध्यक्ष मण्डलका सदस्यहरूले दुई जना नेता ठाकुर र राजेन्द्र महतोलाई कार्यकारिणी समितिका नेता छान्ने जिम्मेवारी दिएका थिए । दुवै जनाले पुराना आफ्ना पार्टीका ९÷९ जना राखेर बाँकी अध्यक्षहरूलाई बेवास्ता गरे । यी दुई जनाले अन्य चार जनाको तर्फबाट प्रतिनिधित्व सुनिश्चित गर्न उनीहरूलाई नसोधी एकलौटी गरेकाले उनीहरूको असन्तुष्टि बढेको हो ।
राजकिशोर यादव निकट एक नेताले भने, “नेताहरूले हातमा डण्डा थमाइदिँदा हवल्दारी शैलीको व्यवहार गर्नु उचित होइन ।”
असन्तुष्ट नेताहरू महेन्द्र राय यादव, शरतसिंह भण्डारी, अनिल कुमार झा र राजकिशोर यादवको तर्फबाट यो समस्याको समाधान कार्यकारिणी समितिको विस्तार गरी समाधान गर्नुपर्ने दबाब परेको उनले जनाए ।
राजपाका नेताहरूमा समस्या बढिरहेका बेला उपेन्द्र यादव समूहले तत्काल समाधान गर्न ध्यान नदिएको उनको भनाइ छ । यादवले कार्यकारिणी समितिलाई विस्तार गरी समस्या अझ थप चर्काउन नहुने पक्षमा रहेको उनी निकट नेताको भनाइ छ । पार्टीको एकीकरण प्रक्रियालाई टुङ्ग्याउन ध्यान दिनुपर्नेमा नेताहरुले जोड दिइरहेका छन् । यादवले संघीय परिषद्को अध्यक्ष डा. बाबुराम भट्टराईलाई बनाउन पहल गरिहेका छन् । एकीकरण प्रक्रियाका बेला भएको समस्या अझ बाँकी छ । ठाकुर पक्षले संघीय परिषद्को अध्यक्ष र कार्यकारी समितिको अध्यक्ष दुवै पद ठाकुरले पाउनुपर्ने दाबी गरिरहेको पार्टीका ती नेताले जनाए ।
डा. बाबुराम भट्टराईबाहेक आफ्नो नेतृत्व गर्ने नेता मधेशमा नभएको बुझाइ उपेन्द्र यादवमा रहेकाले समाजवादी पार्टीका नेताहरूले यसमा सहमत हुनेछन् । कुनै बेला आफ्नो नेता रहेका अशोक राईलाई वरिष्ठ नेता बनाएर यादवले पार्टीको नेतृत्व आफूले लिएका थिए ।
पार्टीका नेताहरूका अनुसार ७५ देखि १०० जनासम्मको कार्यकारिणी समिति बनाएर पूर्व राजपाका अध्यक्ष मण्डलका सदस्यहरूको असन्तुष्टि समाधान गर्न सकिने विषयमा छलफल भइरहेको छ । अहिले ५० जनाको कार्यकारिणी समिति रहेकोले १०० पुग्दा अहिलेको दोब्बर हुने उनको भनाइ छ । पार्टी एकीकरण ठीक ढंगले भई महाधिवेशन नभएसम्म यस्ता असन्तुष्टि समाधान गर्न गाह्रो हुने गरेको नेपाली राजनीतिक दलहरूमा उदाहरण छन् ।
अर्कोतर्फ एकीकरण भएको जसपा विभाजन हुन सक्ने संकेत भट्टराई निकट नेता विश्वदीप पाण्डेको टिव्टले राजपाका नेताहरूलाई दिएको छ । विश्वदीप पाण्डेले हालै गरेको ट्विटमा भनेका छन्, ‘मेरो विचारमा एमालेसँग एकता गरेर नेकपासम्म आइपुग्दा प्रचण्डको र नयाँ शक्ति हुँदै जसपासम्म आइपुग्दा बाबुरामको राजनीतिक प्रयोगको रहर पक्कै पूरा भयो होला । अब प्रचण्ड, बाबुरामसहित २०५२ सालपछिका सबै प्रगतिशील शक्तिहरू एक ठाउँमा हुने वातावरण बन्दा नै प्रचण्ड बाबुराम र सँगसँगै देशको पनि हित हुने देख्छु । यो मेरो व्यक्तिगत विचारप्रति समर्थन र विरोध गर्न सबैलाई छुट छ ।’