कारोबार संवाददाता
शुक्रवार, श्रावण १६, २०७७
505

कोरोना पीडित संघर्ष संयुक्त समिति र इनफ इज इनफले सरकार कोरोना महामारीबाट पीडितप्रति संवेदनशील बनेर राहतको कदम नचाले आन्दोलन गर्ने चेतावनी दिएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर तत्काल आफूहरुको माग पूरा नगरे आन्दोलनमा जान वाध्य हुने बताएको हो ।
कोरानो पीडित संयुक्त संघर्ष समितिका संयोजक विष्णुजङ्ग बस्नेतले सरकार कोरोना पीडितप्रति संवेदनशील नभएकाले आन्दोलनमा जान वाध्य हुने अवस्था आएको बताए । ‘यस्तै अवस्था रहे आन्दोलनमा जानुको विकल्प छैन,’ उनले भने, ‘सरकार सर्वसाधारणको स्वास्थ्यप्रति गम्भीर छैन ।’

पिसिआरको दायरा बढाउनु पर्नेमा उनको जोड थियो । कोरोना महामारीको बेला ३१ वटा संघरसंस्थाहरु सचेताना अभियानमा अग्रसर रहेको उनले बताए । कोरोना भाइरस कुनै वर्ग, क्षेत्र, लिङ्गको नभएको कारण सरकारले अत्यावश्यक कदम चाल्नु पर्नेमा उनको जोड थियो । उनले भने, ‘हामी सरकार ढाल्न कुनै प्रयत्न गरेको छैनौं, सरकालाई महामारीको बेला सही ट्रयाकमा मात्र ल्याउन खोजेका हौँ ।’
इनफ इज इनफका अभियन्ता वृतान्त खनालले आफूहरुको कडा आन्दोलनमा जानसक्ने बताए । सरकार जिम्मेवार रुपमा प्रस्तुत नभएकाले आन्दोलनलाई अझ कडा बनाउनुपर्ने अवस्था आउनसक्ने चेतावनी उनले दिए ।
महामारीको आडमा सरकारले गरेको भ्रष्टाचार, कालोबजारीलाई अन्त्य गर्न आवश्यक रहेको उनको ठहर छ । उनले भने, ‘पिसिआर व्यापक मात्रामा होस्, भ्रष्टाचार र कालोबजारी अन्त्य होस् । साथै विदेशमा रहेको नेपालीको उद्वार गर्न तत्काल पहल होस् ।’
कोरोना पिडित संयुक्त संघर्ष समितिका सल्लाहकार डा. सुरेन्द्र भण्डारीले महामारीका बेला कोरोना पीडित संयुक्त संघर्ष समिति र इनफ इज इनफको संयुक्त साझेदारी भएकोमा बधाई दिए । कन्ट्याक्ट ट्रेसिङ, पिसिआरको दायरा र क्वारेन्टिनलाई गुणस्तर बनाउनुपर्नेमा उनको जोड थियो ।