कारोबार संवाददाता
शुक्रवार, श्रावण १६, २०७७
383

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसले मुलुकको आर्थिक विकास, रोजगारी र उद्यम-व्यवसाय मैत्री वातावरण निर्माणमा महत्वपूर्ण काम गरे पनि त्यसलाई आम जनतालाई बुझाउन नसकेको बताएका छन् ।
नेपाली कांग्रेस, लगानी, पूर्वाधार तथा रोजगार केन्द्रीत विशेष समितिसँगको छलफलमा वरिष्ठ नेता पौडेलले अहिलेको सत्तारुढ दलले नारा बेचेर जनतालाई गुमराहमा पारेपनि अब क्रमशः झुटको पर्दा खुल्दै गएको उल्लेख गरे ।

‘नेपाली कांग्रेसले समृद्ध राष्ट्र निर्माण गर्न, जनतालाई सम्पन्न बनाउन उद्यम, रोजगारी र पूर्वाधार विकासमा धेरै काम गरेको छ । आर्थिक उदारीकरणले निजी क्षेत्रको विस्तार सम्भव भएको हो । नेपाली कांग्रेसले बाहेक अरु कसैले पनि निजी क्षेत्रको भावना कसैले बुझ्न सक्दैन,’ नेता पौडेलले भने, ‘तर कमजोरी के भयो भने नेपाली कांग्रेसले गरेको काम पनि जनतालाई बुझाउन सकेन, अरु नारा मात्रै बेचेर सत्तामा गए ।’
नेता पौडेलले नारा, सपना र झुट बेचेर सत्तामा पुगेको नेपाल कम्युनिष्ट पार्टीले कुनै पनि जनपक्षीय काम गर्न नसकेर नाङ्गिदैं गएकाले मुलुकको प्रमुख प्रजातान्त्रिक शक्ति नेपाली कांग्रेसले मात्र देश र जनताका आवश्यकता सम्बोधन गर्न सक्ने बताए । ‘कांग्रेसमा पार्टी बलियो बनाउने, जनताको मन जित्ने भन्दा पनि पार्टीभित्रको गुटगत राजनीति त्यागेर बलियो नेपाली कांग्रेस पार्टी निर्माण गर्नुपर्छ,’ उनले भने, ‘नेपाली कांग्रेसले तृणमुल तहका जनतादेखि श्रमिक, पेशाकर्मी, व्यवसायी, विज्ञ सबैलाई साथमा लिएर अघि बढ्नेछ ।’ वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेस, लगानी, पूर्वाधार तथा रोजगार केन्द्रीत विशेष समितिले मुलुकमा लगानीको वातावरण बनाउन, रोजगारी सिर्जना गर्न आवश्यक पहल गर्न आग्रह गर्दै मुलुकको समावेशी र समन्यायिक विकासको आवश्यकता औंल्याए ।
लगानी, पूर्वाधार तथा रोजगार केन्द्रीत विशेष समिति संयोजक विनोद चौधरीले नेपाली कांग्रेसले सन् १९९० को दशकमा लिएको आर्थिक उदारीकरणको नीतिले नै निजी क्षेत्रको आकार र औकात बढेको उल्लेख गर्दै नेपाली कांग्रेसको नीतिले कुल गार्हस्थ उत्पादनको ३५ प्रतिशत योगदान गर्ने नयाँ क्षेत्रहरुको उदय भएको बताए । नेपाली जनताले अब जीवनस्तर सुधार, उन्नत विकास र समृद्ध राष्ट्र निर्माणका लागि धेरै प्रतिक्षा गर्न नसक्ने भन्दै नेपाली कांग्रेसको नेतृत्वमा अब मुलुकले समृद्धिको मार्ग तय गर्ने उनले बताए ।
चौधरीले नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा विधान संशोधनमार्फत् कम्तीमा पनि १० प्रतिशत पेशाकर्मी, विज्ञ तथा विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिहरु पार्टीको संयन्त्रमा प्रतिनिधित्व हुने व्यवस्था गर्न आग्रह गरे । ‘नेपाली कांग्रेस आम जनसमुदायमा आधारित (मास बेस्ड) पार्टी भएकाले पार्टीमा रहेर योगदान गर्न चाहाने विभिन्न पेशाकर्मी, व्यवसायी र विभिन्न क्षेत्रमा रहेर योगदान पु-याएका व्यक्तिहरुलाई समेट्न पार्टीको संयन्त्रमा उनीहरुको प्रतिनिधित्वका लागि निश्चित कोटा आवश्यक छ,’ चौधरीले भने ।
समितिका उपसंयोजक उमेश श्रेष्ठले लगानी, पूर्वाधार तथा रोजगार केन्द्रीत विशेष समितिले गरेका कामहरुको बारेमा वरिष्ठ नेता पौडेललाई जानकारी गराउँदै मुलुकमा लगानीको वातावरण, उद्यमशीलता विकास र रोजगारी सिर्जनाका लागि कानुनी, संस्थागत र प्रक्रियागत सुधारलाई कांग्रेसले मात्र नेतृत्व दिन सक्ने बताए । वरिष्ठ नेता पौडेलसँगको भेटमा समितिका अन्य पदाधिकारी, सदस्य तथा सल्लाहकारहरुको उपस्थिति थियो ।