कारोबार संवाददाता
मंगलबार, असार ३०, २०७७
424

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले प्राकृतिक विपद प्रतिकार्यमा केन्द्रित हुन सम्बन्धित निकायहरुलाई निर्देशन दिएका छन् ।
प्रदेश विपद व्यवस्थापन परिषदको सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा वसेको वैठकमा वोल्दै मुख्यमन्त्री शाहीले अवको तीन महिना विपद प्रतिकार्यमा केन्द्रीत हुन परिषद् संवद्ध निकायहरुलाई निर्देशन दिएका हुन् । मुख्यमन्त्री शाहीले विपदको घटना जानकारी पाउने वित्तिकै प्रभावकारी रुपमा उद्धारकार्य गर्न निर्देशन दिए ।

‘वर्षायामको शुरुवातसंगै वाढी, पहिरो, डुवान, सडक अवरोध लगायतका विपदका घटनाहरु बढ्छन्’, मुख्यमन्त्री शाहीले सदस्यहरुलाई निर्देशन दिँदै भने, ‘सबै निकाय सतर्कता र प्रतिकार्यको तयारीमा रहनुस् ।’ उद्धार कार्यको लागि जनपथको नेतृत्वमा हरेक स्थानीय तहमा उद्धार टोली निर्माणगरी सक्रिय बाउने साथै उद्धार कार्यका लागि आवश्यक सामाग्रीको व्यवस्था मिलाइने उनले बताएका छन् । विपद् प्रभावित समुदायको लागि खाद्यान्न, लत्ताकपडा लगायतका वन्दोवस्तीका सामाग्री व्यवस्थापन गर्न समेत मुख्यमन्त्री शाहीले निर्देशन दिएका छन् ।
उद्धार तथा उपचारको लागि यातायात पहुच भएका क्षेत्रमा एम्वुलेन्स र पहुच नभएका क्षेत्रका लागि हेलिकोप्टर तयारी अवस्थामा राख्न पनि उनले निर्देशन दिए । मुख्यमन्त्री शाहीले जोखिमयुक्त क्षेत्रको पहिचान गरि त्यसतो ठाउमा वसोवास गरिरहेका नागरिकहरुको अस्थायी रुपमा भएपनि वसाई सार्ने प्रवन्ध मिलाउनेगरी काम गर्ने निर्देशन गरेका छन् । पहिरोका कारण सडक अवरुद्ध हुन नदिन निर्देशन गर्दै सडक अवरोध हटाउन निश्चित दुरीमा पायक पर्ने गरि स्काभेटर तयारी अवस्थामा राख्न भनेका छन् । बैठकमा मुख्यमन्त्री शाहीले खाद्य संकट हुन नदिन तथा आपतकालीन अवस्थाका नागरिकलाई खाद्य आपुर्तीका लागि हरेक जिल्लामा खाद्यान्न भण्डार गर्न आग्रह गरे । प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, रेडक्रस, दातृ निकाय लगायतको एकिकृत प्रयासबाट मात्रै विपद् प्रतिकार्य गर्न सकिने उनको भनाइ छ ।