कारोबार संवाददाता
सोमवार, असार २९, २०७७
376

चितवन-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजन हुन नदिइने बताएका छन् । जिल्ला पार्टी कार्यालय चितवनमा आइतबार कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी एकतालाई अक्षुण्ण राखिने दृढता व्यक्त गरे ।
उनले भने, “पार्टी विभाजित हुन दिइने छैन, पार्टीको एकतालाई अक्षुण्ण राखिनेछ, यो विश्वास म तपाईंहरुलाई दिलाउन चाहन्छु । अहिले यता र उता दौडिनुभयो भने पछि पछुताउनुहोला ।” उनले सबैले पार्टी एकताका पक्षमा नारा लगाउनुपर्नेमा पनि जोड दिए ।

पार्टीभित्र गम्भीर समस्या सिर्जना भए पनि आफू पार्टीमा देखिएका पछिल्ला सङ्कटबारे गम्भीर छलफलमा रहेको बताउँदै उनले नेता तथा कार्यकर्तालाई नहतारिन आग्रह गरे । हतारमा फुट्ने र फुर्सदमा पछुताउने अवस्था आउन नदिन आफू हदैसम्म लचकताका साथ लागिपरेको बताउँदै उनले भने, “ठूलो पार्टीमा विवाद आउनु नौलो होइन, विचार, विधि र जनवादी केन्द्रीयताका आधारमा एकताबद्ध हुने सैद्धान्तिक यथार्थलाई सम्पूर्ण कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले मान्नै पर्छ ।”
चीनमा विशाल कम्युनिष्ट पार्टी नफुटेको बताउँदै उनले चिनियाँ नेताहरुसँगको छलफलमा विचार र विधिबाट चलेमा पार्टी नफुट्ने अनुभवबारे बुझ्न पाइएको जानकारी दिए । उनले पार्टीमा विवाद भएमा विधिबाट समाधान खोजिने बताए ।
हिजो संविधान नबनोस् भनेर धेरै कसरत भएको बताउँदै उनले भने, “संविधान बन्न नदिने दबाबलाई परास्त गरेर संविधान बनायौँ ।” पार्टी र नेतालाई उक्साउने प्रवृत्तिका विरुद्ध खबरदारी गर्न उनले कर्ताकर्तालाई आग्रह गरे ।
संविधान बनाउनेदेखि नाकाबन्दी, नयाँ नक्सा जारी गर्ने जस्ता कार्य सबै मिलेर गरेको बताउँदै उनले थपे, “हामी कोही राष्ट्रवादी, कोही राष्ट्रघाती होइनौँ । सबै मिलेर राष्ट्राका लागि काम गरेका छौँ ।”

प्रकोपविरुद्धको सङ्घर्ष कमजोर हुनु हुँदैन
अध्यक्ष ‘प्रचण्ड’ले प्रकोपविरुद्धको सङ्घर्ष एक जुट भएर गर्नुपर्ने बताए । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकलाई आइतबार भरतपुरमा सम्बोधन गर्दै उनले कोरोना र प्रकोपविरुद्धको सङ्घर्ष कमजोर हुन नहुने बताए । उनले भने, “मुलुक बाढीपहिराको उच्च जोखिममा छ । यस्तो बेलामा पार्टीका राजनीतिक गतिविधि र अन्य विवादले एकता कमजोर नहोस् । पार्टी एकतालाई कमजोर पार्ने काम कहीँ कतैबाट भयो भने त्यो जनताको पक्षको काम भन्ने ठहरिँदैन ।”
सतर्कता अपनाउन र उच्च मनोबलका साथ एकताबद्ध भएर कोभिड–१९ का विरुद्ध लड्न उनले सुझाव दिए । रोगविरुद्ध सबै राजनीतिक शक्ति, नागरिक समाज, पत्रकार सबै एकताबद्ध हुनुपर्ने पूर्वप्रधानमन्त्री दाहालको भनाइ थियो । उनले जिल्लामा राप्ती, नारायणी र रिउ नदीमा तटबन्धसहितको चक्रपथ निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन बनेर अर्थ मन्त्रालयमा बजेटका लागि पेस भएको जानकारी पनि दिए ।
चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दाहाल उपस्थित भएको बेला पारेर विपद् व्यवस्थापन समिति बैठक राखिएको हो । अध्यक्ष दाहाल आफ्नै क्षेत्रमा पर्ने मेघौलीमा नारायणी नदीको कटान र माडी क्षेत्रमा भएको मानवीय क्षति पछि निरीक्षणका लागि गृहजिल्ला आएका हुन् ।