कारोबार संवाददाता
बुधवार, असार १७, २०७७
462

प्रतिपक्षी नेपाली कांग्रेसले कोभिड–१९ का सन्दर्भमा सरकारले गरेका र आगामी तयारीका विषयमा जानकारी लिने तथा पार्टीले बारम्बार उठाउँदै आएका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।
कांग्रेसद्वारा गठित ‘कोभिड–१९ अनुगमन समिति’का संयोजक एवं पार्टीका सहमहामन्त्री डा.प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेटेर ध्यानाकर्षण गराएको हो ।

प्रतिनिधिमण्डलले मुलुकभरका क्वारेन्टिन व्यस्थित बनाउन र विदेशबाट स्वदेश आउने नेपालीलाई सुरक्षित प्रवेश गराउन, अन्य रोगका बिरामी र सुत्केरीको उपचारको व्यवस्था निर्वाध बनाउन, स्वास्थ्य सामग्री खरिद प्रक्रियालाई पारदर्शि बनाउनुपर्नेलगायत विषयमा ध्यानाकर्षण गराएको छ ।
कांग्रेसले निरन्तर आफ्नो सहयोग, सञ्चार माध्यमको खबरदारी, नागरिक समाज र आमजनताको साथले सिर्जना गरेको अनुकूलताको बाबजुद पनि सरकारको कमजोरीका कारण कोभिड–१९ संक्रमण वृद्धि हँुदै जाँदा जनजीवन कष्टकर हुँदै गएको आरोप लगाएको छ ।
मन्त्री ढकालले सरकारले कोभिड–१९को संक्रमण रोकथाम र उपचारमा सक्दो प्रयास गरिरहेको, विदेशबाट आउने नेपालीको संख्या बिस्तारै कम हुँदा क्वारेन्टिन व्यवस्थापनको चुनौती पनि कम हुँदै गएको र आरडीटी परीक्षणलाई निरुत्साहित गर्दै लगिएको बएका थिए ।
साथै उनले पीसीआर परीक्षण हाल दैनिक आठ हजार क्षमता भएको र केही दिनमा दैनिक १० हजार गरिने जानकारी गराए ।
सहमहामन्त्री डा. महत नेतृत्वको प्रतिनिधिमण्डलमा नेताहरु एनपी साउद, चन्द्र भण्डारी, गगनकुमार थापा, मोहनबहादुर बस्नेत, पार्टी कार्यालयका सचिव डा. प्रदीप पराजुली र राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रभु बुढाथोकी थिए ।