कारोबार संवाददाता
बिहिवार, जेठ १५, २०७७
514

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ मा भएको घटनाबारे गहिरो अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । संघले घटनाको कडा निन्दा पनि गरेको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले उक्त घटना दलित समूदायका लागि मात्रै नभएर सम्पूर्ण मानव समूदायका लागि अत्यन्तै दुःखद् एवम् अमानवीय घटना भएको पनि बताएको छ ।
संघका केन्द्रीय महासचिवहरु धना खतिवडा र मञ्जु खाँण, र कोषाध्यक्ष जानकी सिंहको नाममा जारी प्रेस वक्तव्यमा भनिएको छ, ‘यही जेष्ठ १० गते राति पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा घटेको बिभत्स घटनामा नबराज बिकलगायतका युवाहरुले ज्यान गुमाएका छन् भने ४ जना बेपत्ता पारिएका छन् । यो घटना दलित समुदायका लागि मात्रै नभएर सम्पूर्ण मानव समुदायका लागि अत्यन्तै दुःखद् एंव अमानवीय घटना हो ।’

आजको २१औं शताब्दीमा पनि जातीय बिभेद एबं छुवाछुतका कारणले घटेको यस्ता घटना ज्यादै निन्दनीय भएको संघको ठहर छ । संघले थप भनेको छ,‘यस घटनाले हाम्रो समाजको यथार्थ चित्रण गरेको छ । यस्तो अमानवीय घृणित कार्यको नेपाल महिला संघ घोर भत्र्सना गर्दछ ।’
उक्त घटनालाई सामान्य रूपमा नलिईकन संसदीय छानबिन समिति गठन गर्नुपर्ने संघको जोडदार माग छ ।