कारोबार संवाददाता
मंगलबार, जेठ ६, २०७७
567

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले भारतीय सेनाप्रमुखले नेपाल कसैको इशारामा चलेको भन्नु आपत्तिजनक भएको बताएका छन् । जनरल मनोज मुकुन्द नराभनेले लिपुलेक समस्याबारे दिएको अभिव्यक्तिले दुई देशबीचको मित्रतामा सघाउ नपुग्ने अध्यक्ष लोहनीले सोमबार ट्वीट गर्दै बताएका हुन् ।
‘भारतका जनरल नराभनेले लिपुलेक सीमा समस्याबारे नेपाल कुनै वाह्य शक्तिको इशारामा काम गर्दैछ भन्ने अर्थ लाग्ने अभिव्यक्ति दिनु आपत्तिजनक छ । नराभने जस्तो उच्च पदमा पुगेको व्यक्तिबाट नेपाल आफ्नो राष्ट्रिय स्वार्थ रक्षा गर्न सक्षम छैन भन्ने भावनाको अभिव्यक्ति आउनुले दुई देशबीचको सद्भाव र मित्रता वढाउन मद्दत गर्दैन,’ लोहनीले भने, ‘यहाँ हामीले वझ्नु पर्ने कुरा के छ भने भारत र नेपाल दुबैलाई एक अर्काको सद्भाव र सहयोग चाहिन्छ । त्यसैले दुई देशबीच समस्या आउँदा ठन्डा दिमागले विचार गरौं ।’
भारतीय सेना प्रमुखले केही दिनअघि नेपाल भारतबीच सीमा समस्याका बारेमा विवाद नरहेको र अहिले भारतले नेपाली भूमिमा निर्माण नगरेको बताएका थिए । त्यसैगरी उनले अहिले नेपालले भारतले भूमि मिच्यो भन्ने कुरा कसैको इशारामा गरेको बताएका थिए ।