कारोबार संवाददाता
आइतवार, जेठ ४, २०७७
384

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सरकारको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता गराएको छ । शनिबार बसेको काँग्रेस संसदीय दलको बैठकले सरकारको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव हालेको छ । संशोधन प्रस्तावमा प्रस्तावक काँग्रेसका छाया सरकारका अर्थमन्त्री मिनेन्द्र रिजाल र समर्थक सचेतक पुष्पा भुसाल र सांसद संजय गौतम रहेका छन् । सरकारले कोराना संकटका बेला नीति तथा कार्यक्रम ल्याउँदा प्राथमिकता नै पहिचान गर्न नसकेको बैठकले निष्कर्ष निकालेको छ ।
शनिबार बसेको काँग्रेस संसदीय दलको बैठकमा कोरोना भाइरसविरुद्ध लड्नका लागि सरकारको तयारी पर्याप्त नभएको, कोरोना संकटबाट बाहिर ल्याउन कोरोना केन्द्रित नीति तथा कार्यक्रम नआएको र जनताको जीवन जोगाउने कुरामा नीति तथा कार्यक्रम केन्द्रित नभएको सांसदहरुले वताएको थिए ।

विदेशमा रहेका नेपालीलाई फर्काउने, उनीहरु स्वदेश फर्किसकेपछि भोलि रोजगार र व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि बैठकले छलफल गरेको थियो । बैठकमा सांसदहरु बालकृष्ण खाण, मिनेन्द्र रिजाल, गगन थापा, ज्ञानेन्द्र कार्की पार्व्ति डिसी चौधरी, दिलेन्द्र प्रसाद बडूलायतले आफ्नो धारणा राखेका थिए ।
साथै, संसदमा आक्रमकरुपमा प्रस्तुत हुन सांसदहरुले गरेको आग्रहलाई स्विकार्दै काँग्रेस संसदीय दलका नेता तथा पार्टी सभापति शेरबहादुर देउवाले आगामी दिनमा संसदमा आक्रमक रुपमा प्रस्तुत हुन निर्देशन पनि दिए ।