कारोबार संवाददाता
आइतवार, चैत्र ९, २०७६
703

रौतहट- विगत लामो समयदेखि प्रहरीको खोजीको सूचीमा रहेका नेकपा विप्लव समूहका रौतहट इन्चार्जलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटले पक्राउ गरेको छ । प्रहरीले नेकपा विप्लव समूहका रौतहट जिल्ला इन्चार्ज सहित २ जनालाई शुक्रबार राती ११ बजे पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब निरिक्षक हेम बहादुर शाहीको नेतृत्वमा गएको टोलीले नेत्रविक्रम चन्द नेतृत्वको माओवादी विप्लव रौतहट जिल्ला इन्चार्ज संकेत भनिने मान कुमार राई र नेकपा (विप्लव) समूहका भातृ संगठन नेपाल युवा संघ रौतहटका जिल्ला अध्यक्ष जगत भन्ने कमल गुरुङलाई पक्राउ गरेको छ ।

दुवैजनालाई रौतहट र मकवानुरको सिमा अल्लाजोरबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट एक थान नलकटुवा पेस्तोल, पेस्तोलमा लाग्ने जंगी राउण्ड २ थान, एक थान ग्रिनेट, विभिन्न कम्पनीको ७ थान मोबाइल लगायतका सामान बरामद गरेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरिक्षक हेम बहादुर शाहीले जानकारी दिए ।
उनीहरुलाई चन्द्रपुर नगरपालिका वडा नम्बर ३ को महादेव डाँडा स्थित अल्जाजोर भन्ने स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेका दुबैजनालाई शनिबार पत्रकाकार सम्मेलन गरेर सार्वजनिक गरिएको प्रहरी नायब उपरिक्षक शाहीले बताए । गत माघ १४ गते पनि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट गएको प्रहरीटोलीले विप्लव समूह रौतहट जिल्ला सेक्रेटरी सृजना शाही र जिल्ला समिति सदस्य दुर्गा बल लाई पक्राउ गरेको थियो । प्रहरीले विप्लव समूहका जिल्ला स्तरीय प्रमुख नेतृत्वलाई पक्राउ गरेपछि अव रौतहटमा विप्लवको गतिविधि शून्यमा गरेकोे प्रनाउ शाहीले बताए ।