नीरज पिठाकोटे
बुधवार, फाल्गुन ७, २०७६
373

वीरगन्ज-संघीयताको कार्यान्वयनसँगै तीन तहको निर्वाचत पश्चात काठमाडौंको सिंहदरबार गाउँगाउँमा आएको सरकारले दाबी गरे पनि अहिले स्थानीय सरकार भने कर्मचारी खोज्दै सिंहदरबार धाउन बाध्य भएका छन् । सिंहदरबारबाट काम गर्न स्थानीय तहमा आएका कर्मचारीहरूको अनियमित सरुवाले स्थानीय तहको काम भने प्रभावित भएको छ ।
पर्साका स्थानीय तहहरूमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थायी कर्मचारी पठाउन नसक्दा स्थानीय सरकारले काम गर्न नसकेको गुनासो गरेका छन् । तीन तहको सरकार गठनपछि देखिएको व्यावस्थापकीय संक्रमणको दुई वर्षमा पनि स्थानीय तहमा अझै कर्मचारीको व्यावस्थापन हुन नसक्दा स्थानीय सरकारले काम गर्न सकेको छैन । १४ वटा स्थानीय तह रहेको पर्साको केही स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीयले नै काम चलाइरहेका छन् ।

पर्साको वीरगन्ज महानगरपालिका, पोखरिया नगरपालिका, बुहदरामाई नगरपालिका, ठोरी गाउँपालिका लगायतका स्थानीय तहमा अहिले प्रमुख प्रशासकीय अधिकृत नहुँदा निमित्त प्रमुख प्रशासकीय अधिकृतहरूले दैनिक कार्य सम्पादन गरिरहेका छन् । स्थानीय तहका प्रमुख कार्यकारी अधिकृतहरूको पटक पटकको सरुवाले गर्दा जनताको काममा भने प्रभाव परेको छ । पहिले कामको लागि सिंहदरबारमै धाउनुपर्ने बाध्यताको अन्त्य गर्न शासकीय स्वरुपको परिवर्तन गरेर सिंहदरबारलाई जनताको घरदैलोमा पु¥याईएको भनिएपनि अहिले स्थायी प्रमुख प्रशासकीय अधिकृत खोज्दै नगरपालिका र गाउँपालिकाका प्रमुखहरू काठमाडौंको सिंहदरबारमा नै धाउनुपर्ने बाध्यतात्मक अवस्थाको सृजना भएको छ ।
पर्साको पोखरिया नगरपालिकामा चारमहिना पछि पाएको प्रमुख प्रशासकीय अधिकृत दुई महिनापछि हाजिरी हुन आए । त्यसको लगत्तै फेरी सरुवा भएर गए । स्थानीय तहमा निर्वाचित भएपछि जनताको काम गर्नुपर्ने ठाउँमा कर्मचारी खोज्दै सिंहदरबार धाउनुपर्दा जनताको गाली खानुपर्ने अवस्था आएको पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनियारले गुनासो गरे । उनी भन्छन्, “स्थानीय सरकारको हैसियतमा काम गर्न कर्मचारी अभाव छ । कर्मचारी माग्न दौडधुप गर्दागर्दै समय बित्छ । जनताको काम हुँदैन अनि जनताले हामीलाई नै गाली गर्छन् । मिडियाले पनि हामीलाइ नै दोषी देख्छन् । मन्त्रालयले भने कर्मचारी पठाउँछन् । दुई महिनामा सरुवा गरिदिन्छ ।”
मन्त्रालयलाई कर्मचारी पठाउन मौखिक रुपमा, लिखित रुपमा र मन्त्रालयसम्म धाएर आग्रह गर्दा समेत उल्टै आफैलाई कर्मचारीको नाम लिएर आउन मन्त्रालयका सचिवले अनुरोध गरेपछि अन्योलमा परेको उनले बताए । प्रमुख रौनियार भन्छन्, “हामी त पूmटबल जस्तै भएका छौं । जनताको काम नभएपछि आक्रोशित हुन्छन् । मन्त्रालयले पनि हाम्रो जानकारी विना कर्मचारी सरुवा गरिदिन्छ ।”
प्रमुख प्रशासकीय अधिकृत सरुवा गर्दा कमसेकम एकपटक स्थानीय सरकारको हैसियतले आपूmहरूसँग पनि समन्वय हुनुपर्ने उनको भनाइ छ । पर्साकै बहुदरामाई नगरपालिकाको पनि समस्या उस्तै छ । बहुदरामाई नगरपालिकामा मात्रै कयौं पटक प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भएको छ । प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भईरहँदा नगरपालिकाको काममा नै अवरोध भएको नगर प्रमुख नितेन्द्र साहले बताए ।
स्थानीय तहमा राजनीतिक दलका नेताहरूको व्यक्तिगत प्रभावमा र स्वार्थका लागि प्रमुख प्रशासकीय अधिकृत ल्याउने प्रतिस्पर्धाका कारणले प्रमुख प्रशासकीय अधिकृतहरू पनि राजनीतिक दबाव थेग्न नसक्दा आउन नमान्ने गरेका छन् । अर्कोतर्फ स्थानीय तहमा निमित्त प्रमुखको हैसियतले काम गर्न पाउने बरियतामा दोश्रो तहका कर्मचारीहरूले पनि प्रमुख प्रशासकीय अधिकृतहरूलाई आउने वातावरण विगारीदिन गर्दा समस्या हुने गरेको छ ।
यसले जनता र स्थानीय सरकारको काममा भने बाधा उत्पन्न गरेको छ । एउटै स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत चार पटक सम्म परिवर्तन हुने गरेको छ । सरुवा भएको १५ दिन पनि नपुग्दै फेरी अर्को सरुवाको निर्णयले कर्मचारीहरूलाई पनि समस्या भएको छ ।