कारोबार संवाददाता
सोमवार, फाल्गुन ५, २०७६
301

विराटनगर-समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीयता असफल बनाउने खेलमा सरकार लागेको आरोप लगाएका छन् ।
प्रेस सेन्टर नेपाल मोरङले विराटनगरमा आइतबार गरेको पत्रकार सम्मेलनमा उनले सरकारकै कारण संघीयता धरापमा परेको उनको दाबी थियो । “सरकारका हरेक गतिविधिले संघीयतालाई कमजोर बनाउने काम भइरहेको छ,” यादवले भने, “प्रदेशलाई अधिकार सम्पन्न बनाउनेभन्दा कसरी हुन्छ अधिकारविहीन बनाउने भन्ने खेलमा सरकार लागेको छ ।” यादवले सरकारले प्रेस स्वतन्त्रता हनन् गर्ने गरी मिडिया काउन्सिल विधेयकसहित फोन ट्यापिङ र सेना परिचालनको विषय प्रधानमन्त्रीको मातहतमा ल्याउने गरी विधेयकहरू पारित गराउनेतर्फ लागेका कारण सरकारको भनाइ र गराइमा फरक देखिएको बताए । उनले सरकारले सुखी नेपाली र समृद्ध नेपालको नारा लगाए पनि व्यवहारमा दुःखी नेपाली र दरिद्र नेपाल बनाउन लागि परेको दाबी गरे ।
उनले आफ्नो पार्टी संविधान संशोधनको सर्तसहित सरकारमा गए पनि नेकपा र प्रधानमन्त्री स्वयं सहमतिबाट पछि हटेका कारण आफूहरू सरकारबाट बाहिरिएको प्रष्ट पारे । अध्यक्ष यादवले संविधान संशोधन गरी सर्वस्वीकार्य नबनाएसम्म मुलुक अग्रगतिमा बढ्न नसक्ने बताउँदै संशोधन नगरे जनताले सडक संघर्षको बाटो रोज्ने चेतावनीसमेत दिए । संघीयता कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिँदै उनले संघले प्रदेशलाई अधिकार दिएर संघीयतालाई बलियो वनाउनेपर्ने उनको भनाइ थियो । पूर्वउपप्रधानमन्त्री समेत रहेका यादवले २ नम्बर प्रदेशमा आफ्नो पार्टी सरकारबाट नबाहिरिने प्रस्ट्याए । समाजवादी पार्टी र राजपाबीचको सहकार्य रहुुञ्जेलसम्म २ नम्बर प्रदेशको सरकारबाट पार्टी नहट्ने उल्लेख गरे ।