कारोबार संवाददाता
सोमवार, फाल्गुन ५, २०७६
328

विराटनगर-गुटको राजनीति छाडेर संगठन सुदृढीकरणमा लाग्न नेपाली कांग्रेसका नेताहरूलाई विभिन्न क्षेत्रका विज्ञहरूले सुझाव दिएका छन् ।
नेपाली कांग्रेस मोरङले शनिबार विराटनगरमा आयोजना गरेको दीर्घकालीन रणनीति निर्माणसम्बन्धी अन्तरक्रियात्मक कार्यशाला गोष्ठीमा सहभागिहरूले गुटको राजनीति त्याग्न नेताहरूलाई सुझाव दिएका हुन् । कार्यक्रममा प्राध्यापक बलराम पौडेलले कांग्रेसमा नेतैपिच्छे गुट खडा गरेर कार्यकर्ता भागवण्डा गर्ने प्रबृत्तीले पार्टी कमजोर हुँदै गएको बताउनुभयो । परम्परागत र कर्मकाण्डी प्रवृत्तिले पार्टी चलाएर नहुने भन्दै दीर्घकालीन योजनाका साथ अघि बढ्न उनको सुझाव छ ।

कार्यक्रममा साहित्यकार दधिराज सुवेदी, प्राध्यापक शैलेन्द्र शिवाकोटीलगायतले पार्टीभित्रै पनि एउटा नेतालाई अर्को नेताले चुनाव जित्ला भन्ने डर हुनु दुखद भएको बताए । कांग्रेसमा पद लिन लुछाचुडी गर्ने तर, पद पाएपछि जिम्मेवारी बहन नगर्ने प्रवृत्तिको अन्त्य गर्न पनि सहभागीहरूले सुझाव दिएका छन् । विभिन्न क्षेत्रका सुभेच्छुकहरूले दिएको सुझावका आधारमा भावी नीति तय गरेर अघि बढ्न कार्यक्रम आयोजना गरिएको नेपाली कांग्र्रेस मोरङका सचिव नागेश कोइरालाले जनाए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूलगायत प्राध्यापक, कर्मचारी तथा विभिन्न क्षेत्रका विज्ञसहित ३० जना सहभागी थिए । केन्द्रीय सदस्य अर्यालले कांग्रेसका नेताहरूलाई फसाउन सरकार योजनागत रुपमा लागेको र यसको साथ अख्तियारले दिएको बताए । ‘‘कांग्रेसले स्थापित गराएका लोकतान्त्रिक मान्यतालाई नेकपाले ध्वस्त बनाउँदै लगेको छ,’’ अर्यालले भने, “नेकपाको सरकार बनेपछि मुलुकमा भ्रष्टाचार अत्यधिक मौलाएको छ ।”