कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २, २०७६
500

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकारले चुनावमा गरेका बाचा पूरा नगरेकोमा जनतालाई अहिले पश्चताप भएको स्पष्ट पारेका छन् । उनले भने,“सरकारले यो दुई वर्षमा जनतामा पूरै निराशामात्रै पैदा गरेको छ, सरकारले काम गर्न नसक्दा जनताले पनि अहिले पश्चताप गर्न थालेका छन् । सरकारले हाई–फाईमात्रै देखायो, पब्लिसिटी र स्टन्टमात्रै देखायो, उसले अधिनायकवादी स्वरुप देखाएको छ ।”
बिहीबार काठमाडौंमा भएको साक्षात्कारमा बोल्दै नेता महतले यो सरकार गठन गर्दै गर्दा जनतामा यसले निकै आशा र महत्वकांक्षा जगाएको सुनाए । उनले भने, “चुनावमा कम्युनिष्टहरुले महत्वकांक्षी योजना र आशा जगाएका थिए, त्यही भएर उनीहरुले बहुमत ल्याए । तर, कम्युनिष्टहरु प्रोपागाण्डा र प्रचार गर्न सिपालु हुन्छन् । उनीहरुसँग महत्वकांक्षा पूरा गर्ने क्षमता पनि छैन । यो सरकारले पूरा हुनै नसक्ने लक्ष्य देखाएको थियो । सुरुमै आवश्यक्ताभन्दा पनि महत्वकांक्षी लक्ष्य लिएको थियो । तर, उसले पूरा गर्न सक्ने कुरा पनि पूरा गर्न सकेन् । अहिले देशमा सुशासनको अभाव छ ।”

उनले अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको अर्ध वार्षिक समिक्षा गर्दा पनि बजेटका लक्ष्यहरु रिभाईज गरेको सुनाए । उनले भने, “बजेट ल्याउँदाखेरि पनि मैले लक्ष्य हाँसिल गर्न नसकिने कुरा छन् भनेर बोलेको थिएँ । हिजोको समिक्षापछि राजस्व घटाइएको छ, विकास खर्च घटाईएको छ । पछिल्लो ५ महिनामा ११ प्रतिशतभन्दा बढि पुँजीगत खर्च हुन सकेको छैन् ।” आफूले सुरुमै यो बजेटमा व्यवहारिक कुरा भन्दापनि प्रोपागाण्डा बढि रहेको कुरा बताएको उनले स्मरण गराए ।
सरकारले आर्थिक वृद्धिदर पनि दुई अंकको हाँसिल गर्छु भनेर घोषणा गरेको कुरामा उनले गुनासो पोखे । उनले भने, “यो भनेर हुने कुरा होइन, यो त अनुमान गर्ने कुरा हो । तर सरकारले यति नै प्राप्त गर्छु भनेर भन्नु भनेको तल्लो स्तरमा प्रभावमा पारेर तथ्यांक बढाई देखाउनु हो । यो गलत कुरा हो । यसअघि ६÷७ प्रतिशतले आर्थिक वृद्धि हुँदा भुकम्पपछिको पूर्ननिर्माण र कृषिमा राम्रो उत्पादन हुँदा हाँसिल भएको थियो ।” पछिल्लो समय नेपालमा औद्योगिक क्षेत्रले कुल ग्राहस्थ उत्पादनमा ५ देखि ६ प्रतिशमात्रै योगदान पु¥याएको उनको भनाई छ । उनले भने, “जबकी १९९० ताका औद्योगिक क्षेत्रबाट १० देखि ११ प्रतिशत योगदान हुने गरेको थियो ।”
त्यस्तै, उनले मेलम्ची खानेपानी आयोजना र अप्पर तामाकोशी आयोजनाहरु पनि ढिलाई भइरहेको सुनाए । उनले भने,“यी आयोजनाका कामहरुमा ढिलाई भइरहेका छन् । जसले गर्दा आयोजना खर्च पनि झन झन बढेको छ । राष्ट्रिय गौरवका आयोजनामा यसरी ढिलासुस्ती गर्नुहुँदैन् । यसले गर्दा अनुमानित खर्च बढेको छ ।” उनले पछिल्लो समय जताततै भ्रष्टाचार बढेको पनि आरोप लगाए । उनले भने, “मेलम्ची आयोजनाबाट विदेशी ठेकेदारले हात झिक्नु यसकै उदाहरण हो । हजारौं विकास निर्माणका आयोजनाहरु अहिले अलपत्र परेका छन् । खानेपानी, सडक, सिचाँई र पुल निर्माण लगायतका आयोजनाहरु अहिले अलपत्र परेका छन् ।”
डा. महतले एमसीसी नेपालको हितमा भएकोले यसलाई ढिलाई नगरी संसदबाट अनुमोदन गर्नुपर्ने माग गरे । उनले भने,“यो ग्लोबल फेनोमेनन हो । यसमा मिलिटरी एलायन्स छ भन्ने कुरा शतप्रतिशत गलत हो ।” उनले यसअघिका अर्थमन्त्रीहरु यसबारेमा जानकार रहेको सुनाउँदै हल्लाखल्लाको पछि नलाग्न पनि सुझाव दिए । उनले एमसीसीमा कांग्रेसको समर्थन किन ? भन्दाखेरि यसमा आफूहरुको सुरुदेखिनै संलग्नता रहेको सुनाए । उनले भने, “शेरबहादुर देउवा प्रधानमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्रीको पालामा सम्झौतामा हस्ताक्षर भएको हो ।”
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले वर्तमान सरकारले दुई वर्षमा मुलुकलाई विकास र समृद्धिको नयाँ युगमा प्रवेश गराएको स्पष्ट पारेका छन् । उनले भने, “राजनीतिक क्रान्ति सम्पन्न भैसकेको छ । अब मुलुकलाई विकास र समृद्धिको नयाँ युगमा प्रवेश गराइएको छ । यो सरकार गठन भएको दुई वर्ष भयो, यो सरकार पूरानाको निरन्तरता होइन, नयाँ संविधान आएपछि नयाँ व्यवस्थाअनुसार बनेको सरकार हो ।”
सरकारले गल्ती गर्नेहरु जो कोही पनि कारबाहीको दायरामा ल्याउने उनको भनाई छ । उनले भने,“जसले गल्ती गर्छ उसलाई कारबाही गर्नुपर्छ । तर, गल्ती नगर्नेलाई उन्मुक्ति दिनुपर्छ ।” सरकारले विकास निर्माणलाई योजनाबद्ध रुपमा अघि बढाएको उनको तर्क छ ।