कारोबार संवाददाता
शुक्रवार, माघ १०, २०७६
645

राष्ट्रियसभा सदस्यको बिहीबार भएको निर्वाचनमा स्थानीय तहतर्फ ९९.१९ प्रतिशत मतदान भएको छ ।
निर्वाचन आयोगका अनुसार, प्रदेशसभा सदस्यतर्फ भने ९९.१५ प्रतिशत मत खसेको छ । राष्ट्रियसभा सदस्यको १८ पदका लागि बिहीबार बिहान १० देखि अपरान्ह ४ बजेसम्म मतदान भएको थियो । मतदान शान्तिपूर्ण र उत्साहजनक रुपमा भएको जनाउँदै आयोगले सम्पूर्ण मतदाता, उम्मेदवार, राजनीतिकर्मी, निर्वाचनमा संलग्न कर्मचारी, सुरक्षाकर्मी, समाजसेवी, सञ्चारकर्मीलगायत आम नागरिकप्रति आभार प्रकट गरेको छ ।
निर्वाचनका लागि मुलुकका सातै प्रदेशका उच्च अदालत रहेका जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो ।
बिहीबार रातिसम्म धेरैजसो स्थानको मतपरिणाम आइसकेको छ ।
प्रदेश नं २ बाट नेकपा र राष्ट्रिय जनता पार्टीका संयुक्त उम्मेदवार तुलसाकुमारी दाहाल निर्वाचित भइन् । निर्वाचन कार्यालयका अनुसार पाँच हजार २०८ मत प्राप्त गरी उनी निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नगिना यादवले चार हजार ७४० मत प्राप्त गरे ।
प्रदेश दुईको दलित कोटाबाट नेकपा(राजपा गठबन्धनका राधेश्याम पाशवान विजयी भएका छन् । उनले नेपाली कांग्रेस–समाजवादी गठबन्धनका रामप्रित पाशवानलाई पराजित गरे ।
राधेश्यामले ५२९२ मतभार प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी रामप्रितले ४७०४ मतभार पाए ।
अन्यतर्फ राजपाका मृगेन्द्र यादव विजयी भए । अल्पसंख्यकतर्फ राजपाकै शेखरकुमार सिंह निर्वाचित भए ।
उता, गण्डकी प्रदेशबाट अन्य समूह र महिला सदस्यमा क्रमशः नेकपाका नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने निर्वाचित भए ।
नेकपा प्रवक्तासमेत रहेका श्रेष्ठले तीन हजार ४६२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्यप्रसाद रेग्मीले दुई हजार २४४ मत प्राप्त गरे ।
यसैगरी न्यौपाने तीन हजार ३६६ मत प्राप्त गरी विजयी भइन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विमला गौचनले दुई हजार ३४० मत प्राप्त गरिन् ।
दाङमा भएको निर्वाचनमा प्रेदश ५ मा नेकपाका तीनैजना उमेदवार विजयी भएका छन् । सत्तारुढ दल नेकपाबाट अपांग सदस्यमा दाङका जगप्रसाद शर्मा, महिला सदस्यमा कपिलवस्तुबाट विमला घिमिरे र अन्यबाट रुपन्देहीका गोपाल भट्टराई निर्वाचित भएका छन् ।
दाङका शर्मा गत प्रदेशसभा सदस्यमा पराजित भएका थिए । उनले दाङको निर्वाचन क्षेत्र नं। ३ को (क) मा नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरीसँग पराजित भएका थिए ।
रुकुमबाट निर्वाचन पूर्व बसाइसराइँ गरेर तुलसीपुर झरेका उनी नेकपाका नेता तथा पूर्व गृहमन्त्री जनार्दन शर्माका आफन्त पनि हुन् । शर्मा नेकपा प्रदेश नं ५का सचिव पनि हुन् ।
राष्ट्रिसभाका तीनजना सदस्य पदका लागि नौजनाबीच प्रतिपर्धा भएको थियो । नेकपा र कांग्रेसबाट समान तीन–तीन जना, समाजवादी पार्टीबाट दुई जना र राष्ट्रिय जनमोर्चाबाट एक जनाले उमेदवारी दिएका थिए ।
प्रदेश १ मा महिला कोटातर्फ इन्दिरा गौतम विजयी भएकी छन् ।
कर्णाली प्रदेशमा अन्यतर्फ नेकपाका माया प्रसाद शर्मा र महिलातर्फ नेकपाकै सुमित्रा बिसी विजयी भए ।

विजयी उम्मेदवारहरु
१८ पदका लागि भएको निर्वाचनका लागि ४५ जना प्रतिस्पर्धी थिए।

 

यी हुन् विजयी उम्मेदवारहरुः

बम
इन्दिरा गौतम
तुलसा दाहाल
राधेश्याम पासवान
मृगेन्द्र यादव
शेखरकुमार सिंह
नारायणकाजी श्रेष्ठ
भगवती न्यौपाने
विमला घिमिरे
जगप्रसाद शर्मा
गोपाल भट्टराई
माया प्रसाद शर्मा
सुमित्रा बिसी