कारोबार संवाददाता
मंगलबार, पुष २९, २०७६
591

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले संवैधानिक व्यवस्थाअनुसार उपसभामुखको हैसियतमा डा. शिवमाया तुम्बाहाम्फे सभामुखको उम्मेदवार नै बन्न नपाउने दाबी गरेका छन् । गुरुङले पछिल्लो समय मुलुकमा अनपेक्षित परिघटना भैरहेकोतर्फ सचेत गराए । उनले भने, “संसद अवरुद्ध हुनु दुखद् हो । संसद् यही तवरले अवरुद्ध भैरहे मुलुकको सिस्टममा गत्यावरोध हुनसक्छ ।’
सदनको गत्यावरोध हटाउनको लागि र सदन सुचारु गर्नको लागि सबै दल गम्भिर हुनुपर्नेमा उनले जोड दिए । यद्यपि उनले अहिलेको संसदको गत्यावरोध पार्टीसँग सम्बन्धित नभएको जिकिर गरे । “यो गत्यावरोध संवैधानिक अंगसँग सम्बन्धित छ,” उनले भने, “त्यसैले पार्टीले मात्रै निकास दिन सक्दैन ।”

गुरुङले अहिले सभामुख पद रिक्त रहेकोले त्यसको लागि निर्वाचन आवश्यक रहेको सुनाए । सदनमा बहुमत भएको नाताले सभामुखमा नेकपाले उम्मेदवारी दिने उनले बताए । उनले भने, “सबै हिसाबले सभामुख नेकपाले लिने कुरा उत्तम हो । तर, यसको लागि संवैधानिक बाटो खुलाउनुपर्छ ।” उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न नेकपाले आग्रह गरेको पनि उनले सुनाए । “उपसभामुखलाई पार्टीले निर्देशन दिन मिल्दैन । आग्रहमात्रै गर्न मिल्छ । उहाँ स्वतन्त्र हुनुहुन्छ । पार्टीको कुनै ह्विप जारी गर्न मिल्दैन । मार्गप्रशस्त गर्न त उहाँले आफ्नो स्वविवेकीय क्षेत्राधिकार प्रयोग गर्न सक्नुहुन्छ,” गुरुङले थपे ।
संसदको डेडलक फुकाउनको लागि संसदको नियामावली फलो गर्नुपर्ने उनको धारणा छ । संविधानले सभामुख नरहने परिकल्पना नगरेको पनि उनले सुनाए । उनले भने, “संविधानले कायममुकायमको पनि व्यवस्था गरेको छैन ।” उपसभामुखले अन्तरवस्तु आकर्षण गर्नेगरी बैठक बोलाउन नसक्ने उनको तर्क छ ।
उनले उपसभामुखलाई सभामुख बनाउने व्यवस्था नरहेको स्पष्ट पारे । उनले भने, “उपसभामुख पदमा रहिरहेर सभामुखमा आफ्नो उम्मेदवारी दिन मिल्दैन । यदि उम्मेदवार हुन चाहेको भए उपसभामुखबाट अनिवार्य रुपमा राजीनामा दिनुपर्छ ।” उनले अहिले महिला वा पुरुषलाई सभामुख बनाउने भन्ने बहस नभएको सुनाउँदै घटनाक्रमले संकट आइपर्न सक्ने पनि बताए । “यस्तो अवस्थामा हामीले संवैधानिक व्यवस्था फलो गर्नुपर्छ,” उनले थपे ।
अहिलेको संसदको गत्यावरोध खुलाउनको लागि दुई वटा विकल्प रहेको सुनाउँदै गुरुङले भने, “कि त सर्वोच्च अदालतको फैसला तुरुन्त आउनुप¥यो, या त उपसभामुखले मार्गप्रशस्त गर्नुपर्छ । पार्टीको आग्रह पनि उहाँलाई मार्गप्रशस्त गर्न रहेको छ ।” संवैधानिक रुपमै सभामुखमा उम्मेदवारी दिने बाटो खुल्ला नभएकोले नेकपाले उम्मेदवार तय नगरेको उनको तर्क छ । उनले भने, “संवैधानिक संकटको समाधान हुनेबित्तिकै सभामुखमा जो भए पनि उम्मेदवार तय हुन्छ । पहिला संकट फुकाउनुपर्छ ।” ढिलो वा चाँडो उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिनेमा आफू विश्वस्त रहेको पनि गुरुङको भनाइ छ ।
उनले संवैधानिक पदमा बसेर बार्गेनिङ गर्ने नैतिकता कसैलाई पनि नहुने र कम्युनिष्ट पार्टीमा त झनै त्यो कुरा स्विकार्य नहुने तर्क गरे । उनले भने, “यो फेयर पोलिटिक्स होइन ।” व्यक्तिका इच्छा, आकांक्षा पूरा गर्नको लागि सदन अवरुद्ध गर्न नहुने उनको भनाइ छ । उनले उपसभामुख यथावत् रहेको अवस्थामा नेकपाले सभामुखमा उम्मेदवारी दिन नपाउने पनि स्पष्ट पारे ।
गुरुङ सोमबार रिपोर्टर्स नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै थिए ।