कारोबार संवाददाता
शुक्रवार, पुष ४, २०७६
502

त्रिभुवन विश्वविद्यालयको ४५ औं दिक्षान्त समारोहमा बिहीबार १० हजार १८३ विद्यार्थी दीक्षित भएका छन् । पुल्चोक इञ्जिनीयरिङ क्याम्पसको प्रांगणमा भएको समारोहमा ०७५ असार १ देखि ०७६ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थी दीक्षित भएका थिए । सोही अवसरमा ५७औँ ग्रेस लिस्टमा सहभागी ७० हजार ७७ विद्यार्थी दीक्षित भएका थिए ।
समारोहमा विद्यावारिधितर्फ ८५, एमफिलतर्फ ४०, स्नातकोत्तर तह तथा स्नातक तह उत्तीर्ण गरेकामा कृषि तथा पशुविज्ञानमा १३२, शिक्षा सङ्कायमा ७७१, मानविकी सङ्कायमा दुई हजार ९१, इञ्जिनीयरिङ एक हजार १८६, वन विज्ञान ३३, कानूनमा १८०, चिकित्सामा ८६४, व्यवस्थापनमा तीन हजार ७०३ र विज्ञानमा एक हजार ९८ विद्यार्थी दीक्षित भएका थिए ।

समारोहमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई विभिन्न ३१ पदक-पुरस्कार प्रदान गरेका थिए । त्रिविका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थिति भएपछि शिक्षामन्त्री पोखरेलले समारोहको अध्यक्षता गरेका थिए ।
कार्यक्रममा मन्त्री पोखरेलले त्रिविलाई नमूना केन्द्रीय विश्वविद्यालय बनाउनुपर्ने बताए । नेपालको उच्च शिक्षाको विकासमा त्रिविले खेलेको भूमिकाको सराहना गर्दै उनले त्रिविलाई नमूना केन्द्रीय विश्वविद्यालय बनाउनुपर्नेमा जोड दिए ।
त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले त्रिविले सञ्चालन गरेका शैक्षिक कार्यक्रम अन्तर्रा्ष्ट्रियस्तरमा समेत उत्कृष्ट रहेको बताए । उनले अहिलेको परिवेशअनुसार प्रतिस्पर्धी जनशक्ति उत्पादनका लागि त्रिविले गुणस्तरमा थप सुधार गरेर जाने बताए ।