दिलबहादुर केसी
सोमवार, मंसिर ३०, २०७६
633

विगतमा सिंगटदेखि सदरमुकाम चरिकोट पुग्न ४ घण्टा लाग्नेमा डेढ वर्ष यता यो यात्रा समय एक घण्टादेखि डेढ घण्टामा सीमित भएको छ । यसबाट यात्राको समय त घटेकै छ, त्यसका अलवा यातायातका साधनमा लाग्ने इन्धन र पार्टपुर्जा खर्च पनि घटेको छ । धुलो हटेको छ, पर्यटक बढेका छन् भने सडक आसपासमा व्यावसायिक गतिविधि बढेको छ ।

दोलखा बजारदेखि जिल्लाको उत्तरी केन्द्र सिंगटी बजार पुग्ने सडक चिल्ला भएका छन् । सडक चिल्ला भएपछि यात्रा सहज पनि भएको छ भने यात्रा समय पनि छोटिएको छ ।
दोलखादेखि सिंगटीसम्मको दूरी ३५ किलोमिटर छ । यो सडकको यात्रा १० वर्ष अघिसम्म छिटोमा ४ घण्टादेखि रात नै बाटोमै बिताउनु परेको स्मरण धेरै यात्रु र यातायातका साधन चलाउने चालकसँग अझै ताजै छ । सडक कालोपत्रे भएपछि अहिले ति दिन गएको स्थानीयको अनुमान छ ।
विगतमा सिंगटदेखि सदरमुकाम चरिकोट पुग्न ४ घण्टा लाग्नेमा डेढ वर्ष यता यो यात्रा समय एक घण्टादेखि डेढ घण्टामा सीमित भएको छ । यसबाट यात्राको समय त घटेकै छ, त्यसका अलवा यातायातका साधनमा लाग्ने इन्धन र पार्टपुर्जा खर्च पनि घटेको छ । धुलो हटेको छ, पर्यटक बढेका छन् भने सडक आसपासमा व्यावसायिक गतिविधि बढेको छ ।
तत्कालीन जिल्ला विकास समितिले सीमित स्रोत र साधनबाट खनिएको ट्रयाकले जेनतेन सवारी चल्दै आएको थियो । १० वर्ष अघिसम्म सामान्य ट्रयाकमा मात्रै चल्ने सडक १० वर्ष यता सुधार भएर कालोपत्रे नै भयो । १० वर्ष यता दोलखादेखि सिंगटी मात्र होइन यस्ता कालोपत्रे सडक दर्जन पुग्न लागेका छन् । १० वर्ष अघि ट्रयाक समय नखुलेका गाउँमासमेत कालोपत्रे सडक हुन थालेका छन् । यस्ता चिल्ला र फराकिला सडकले जनजीवनमा समेत आमूल परिवर्तन आउन थालेको छ ।

यी हुन् कालोपत्रे सडक
विगतमा ट्रयाक मात्र भएका सडक र ट्रयाकै नखुलेका ठाउँमा कालोपत्रे सडक नै निर्माण भएका छन् । दोलखा सिंगटी त्यसकै एउटा उदाहरण हो । दोलखा सिंगटैसँगैको सिंगल लेनको चरिकोटदेखि दोलखासम्मको ५ किलोमिटर सडक पनि विस्तार भएर २ लेनको भएको छ । यो सडकले जिल्लाको उत्तरी क्षेत्रको झण्डै आधा भूगोलका जनतालाई सेवा पु-याउँछ ।
भीरकोटदेखि हावासम्म पुग्ने सडक धमाधम कालोपत्रे भइरहेको छ । यो सडकको कालोपत्रे केही महिनामा पूरा हुँदैछ । यसले तामाकोसी गाउँपालिकाको झुलेबाहेकका वडालाई समेट्छ । यसले साविकका जफे, मालु, सहरे, च्यामा र हावा गाविस प्रत्यक्ष रूपमा लाभान्वित हुन्छन् । यो सडक जिरी पुग्ने वैकल्पिक सडकसमेत हो ।
पवटीदेखि भेड्पूको बुद्धचोकसम्मको सडक पनि कालोपत्रे भइरहेको अर्को सडक हो । यसले मेलुङ गाउँपालिकाको नागरिकहरुलाई फाइदा पुग्छ । नयाँ पुलदेखि पवटी खण्डको सडक केही समयअघि मात्र स्तरोन्नति सकिएर ग्राभेल सडक भए तापनि यसको पुनः कालोपत्रे सडकमा रूपान्तरण हुने गरी अघि बढको छ । जिरी पूर्वको सडक पनि कालोपत्रे भइरहेको छ । जिरीदेखि खिम्ती खोलासम्मको सडक सडक विभागले नै विगतदेखि नै काम गरिरहेको छ । यस काम पूरा हुने अन्तिम चरणमा छ ।
शैलुङ गाउँपालिका पुग्ने मुडेदेखि शैलुङसम्मको सडकको काम पनि भइरहेको छ । विगतमा ठेक्का लागेर ठेकेदारले काम नगरेपछि कारबाही गरेर पुनः ठेक्का निकालेर काम अघि बढेको हो । शैलुङ गाउँपालिका अध्यक्ष भरतप्रसाद दुलालका अनुसार १६ किलोमिटर सडक कालोपत्रे हुँदा शैलुङको पर्यटन प्रवद्र्धन र यहाँ उत्पादन हुँने आलु, तरकारीले सहजै काठमाडौं पुग्ने र किसानहरू राम्रो आम्दानी गर्न सक्ने दाबी गरे ।
तामाकोसीदेखि खुर्कोटसम्मको सडक कालोपत्रे भएको छ । रामेछाप र सिन्धुलीको सिमाना सुनकोसी नदीमा पुल बनेको छ । पुल बनेपछि दोलखाको तराई मधेससँग सोझो सम्बन्ध जोडिएको छ । दोलखामा उत्पादित तरकारी सोझै तराईका उपभोक्ता माझ पुगेको छ । मधेसबाट निर्माण सामाग्री र खाद्यान्न सोझै आउँछ ।
अहिले चरिकोटदेखि सोझै पूर्वको सिमाना काँकडभित्तासम्म बस सेवा नियमित चल्छ । पूर्वी नेपाल र तराईका जिल्लासँगको यात्रा छोटिएको छ । काठमाडौं छिर्ने वैकल्पिक राजमार्ग बीपी राजमार्ग हुँदै खुलेको छ ।

३ सडक कालोपत्रे हुने लाइनमा
दोलखाका ३ वटा थप सडक स्तरोन्नतिसहित कालोपत्रे हुने भएको छ । ३ नं. प्रदेशअन्तर्गत पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले दोलखाका महत्वपूर्ण थप ३ सडकलाई स्तरोन्नति गर्दै कालोपत्रेसम्म गर्ने गरी प्रक्रिया अघि बढाएको हो ।
सिद्धाकोथान–जुँगू–झ्याँकू–भोर्ले सडक, सित्तली –मेलुङ–भञ्ज्याङ–भैसैं सडक र सुनखानी–साङ्बा विगू सडकलाई स्तरोन्नति गर्न लागेको हो । यी सडक कालोपत्रे हुँदा दोलखाका अधिकाँश भु–भाग समेट्ने छ । यी सडकको डीपीआरको काम सुरु भएको छ । यी सडकको काम चालू आर्थिक वर्षदेखि नै सुरु हुनेछन् ।
३ नं. प्रदेश सांसद विशाल खड्काका अनुसार अहिले काम अघि बढेका सडकहरू ३ वर्षदेखि ५ वर्षभित्र सबै कालोपत्रे हुनेछन् । यसले दोलखाका अघिकाँश नागरिकलाई सेवा पु-याउने छ । यसले गाउँ गाउँसम्म १२ महिना यातायात त चल्छ नै त्यसका अलवा यात्रा सहज हुन्छ । स्थानीयस्तरमा उत्पादित सामग्रीले सजिलै राजधानी र तराईका जिल्लासँग पु-याउँन पहुँच पुग्ने छ । हुन त भीमेश्वर नगरपालिकाको मकैबारीदेखि देउरालीसम्म पनि कालोपत्रे भइसकेको छ । यसको ५ वर्ष अघिमात्र सामान्य ट्रयाक खुलेको हो । यो सडकले कालिञ्चोक जाने तीर्थ यात्री र पर्यटकहरूको यात्रा सहज बनाएको छ । हुन त १० वर्ष अघिसम्म कालिञ्चोकमा सिजनमा बढीमा एक सयजना पनि नपुग्ने कालिञ्चोकमा सडक खुलेपछि अहिले एकै दिन १० हजारसम्म आन्तरिक पर्यटक पुग्न थालेका छन् । सुविधा सम्पन्न ५ दर्जन बढी होटल खुलेका छन् । दैनिक करोडौंको कारोबार हुन्छ ।

यस्तो सडकको इतिहास
दोलखाको सडकको इतिहास अन्यत्रभन्दा अगाडि नै छ । अरनिको लोकमार्गको सिन्धुपाल्चोकको खाडिचौरबाट सुनकोसी तरेर पूर्व लागेपछि उकालो लाग्ने अर्को पक्की सडक भेटिन्छ । जुन सडक हुँदै ११० किलोमिटर यात्रा गर्दा जिरी पुगिन्छ ।
यो लामोसाँघुदेखि जिरीसम्म यात्रा गर्दा लेक–बेंसी, गर्मी चिसो सबैका अनुभूति गर्न सकिन्छ । जुन यात्रा ३÷४ घण्टाको छोटो यात्रामा यस्तो अनुभूति अन्यत्र विरलै गर्न सकिएला । सुनकोसी र तामाकोसी गरी दुई वटा नदी तर्नु पर्छ । ९ सय मिटरको सतहदेखि २ हजार ८ सय मिटर उचाइका खरिढुंगा, खावाडाँडा र देउराली जस्ता पहाडहरूका उकालो ओरालो र घुम्ती पार गर्दै जिरी पुग्न सकिन्छ ।
यो सडक आयोजना जिरी उपत्यकामा स्वीसहरू घुम्न आउँदा आफ्नो देसको जुरिच सहरजस्तै लागेपछि स्वीसहरू जिरीको विकासका लागि लागि परेका बुढापाकाको भनाइ छ । जिरीकै विकासका लागि स्वीसहरूले अस्पताल, जिरी प्राविधिक शिक्षालय, विमानस्थल र जिरी पशु विकास फर्म खोलेका थिए । तर अहिले विमानस्थल बन्द अवस्थामा रहेको छ ।
वि.सं २०३२ सालबाट निर्माण सुरु भएको सो सडक आयोजना २०४२ सालमा निर्माण पूरा भएको हो । यो हिसाबले पनि आजभन्दा ३४ वर्ष पहिले नै जिरीसम्म पक्की सडक तयार भएको हो ।
दोलखा जिल्लाकै मध्ये भागबाट रेखा झैं कोरिएर निर्माण भएको सडकले दोलखा जिल्लाभरलाई सहज बनाएको छ । यसले सिन्धुपाल्चोकको पूर्वी भेगलाई समेत राम्रै सुविधा पुगेको छ । बीपी राजमार्ग र मध्यपहाडी राजमार्ज नखुल्दा(करिब एक दशक अघि) सम्म पूर्वी सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सोलुखुम्बु, र ओखल्ढुंगाको पश्चिमी भेग यही सडकबाट ढुवानी र यात्रा हुन्थ्यो ।
दोलखा, रामेछाप, सिन्धुपाल्चोक, ओखलढुंगा र सोलुका हजारौं यात्रु लिएर दैनिक ३०० भन्दा बढी बस र त्यत्तिकै संख्यामा मालवाहक ट्रक र अन्य साना ठूला यातायातका साधन दोलखा, रामेछाप र सिन्धुपाल्चोकका पूर्वी गाउँमा पुग्छन् । केही वर्षयता ग्रामीण सडकको निर्माण तीव्र गतिमा अघि बढिरहेको छ । जति जति ग्रामीण सडकको विस्तार हुँदै जान्छ त्यही अनुपातमा यो सडकमा सवारी साधनको घनत्व पनि बढिरहेको छ । तर यसको स्तरोन्नति र सडक चौडा गर्ने काम सुरु हुन सकेको छैन ।
स्वीसले आफैंले सडक आयोजना गर्दा तत्कालीन सरकारले लामोसाँघुदेखि जिरीसम्मको दायाँबाँया ३० मिटर जग्गा उपलब्ध गराएको थियो । सडकपछि विस्तार गर्न सकिने उद्देश्य राखेर सडकको दायाँ बाँया १५-१५ मिटर जग्गा अधिग्रहण गरेको छ । त्यही जग्गाका कारण ३० वर्षपछि विस्तार गर्न लागेको सडकका लागि जग्गाको कुनै समस्या छैन ।यही सडक अहिले दोहोरो लेनमा विस्तार भइरहेको छ । यो सडकको स्तरोन्नतिको काम डेढ वर्षपछि पूरा हुने कार्यक्रम छ । यो सडक स्तरोन्नति भएपछि दोलखा ओहोर दोहोर अझ सहज हुनेछ ।
अहिले दोलखाका अतिदुर्गम भनिएका विगू, आलम्पू र लामाबगर, रामेछापका बाम्ती, गुम्देल, प्रिती, डडुवा, गौस्वारालगायतका गाउँका मानिस आफ्नै घर आँगनबाट बस चढेर सोझैं सदरमुकाम र राजधानी पुग्न सक्ने भएका छन् । स्थानीय उत्पादनहरु सोझै अघिल्लो दिन काठमाडौं लगायतका सहरको भाउ बुझेर भोली पल्टै सहर पु-याउन सक्ने भएका छन् । तातोपानीपछि अर्को चीनसँगको सडकबाट जोडिने नाका खुल्ने भएको छ भने अर्को उत्तर दक्षिण लोकमार्ग खुल्ने तयारी भएको छ ।

सडकपछिको सहजता
हरिया डाँडा, वन जंगल, नदी, खहरेको सुस्केरा, हिमालको मनमोहक दृश्यावलोकन गर्दै यात्रा गर्ने यात्रुहरू पनि यहाँ आउनेको संख्या पनि उत्तिकै रहेको छ । यसरी हेर्दा पर्यटकीय दृष्टिकोणबाट पनि यो सडक उत्तिकै महत्वपूर्ण मानिन्छ । यसको निर्माण पनि धेरै गाउँलाई सुविधा पुग्ने गरी र पर्यटकीय दृष्टिकोणबाट पनि आत्मसाथ राखेर निर्माण गरिएको पाइन्छ ।
दोलखाको लाँकुरीडाँडामा म्याग्नेसाइट, खरिढुंगाको उद्योग सञ्चालन भएको थियो । एसियाकै दोस्रो ठूलो म्याग्ने साइट खानी रहेको यो उद्योगमा दसौं हजारले रोजगारी पाएका भए पनि व्यवस्थापन र विविध कारणले विगत एक दसकदेखि बन्द रहेको छ । आजभोली आलम्पू र चिलंखाका प्रख्यात ढुंगाखानीका स्लेट सोझै राजधानी पुग्न थालेका छन् ।
दोलखामा नै १५ वर्ष अघि खिम्ती–१ जलविद्युत् आयोजना निर्माण पूरा भएर विद्युत् उत्पादन गरिरहेको छ । खिम्ती खोलामा देशकै ठूलो (१८०० मेवा) को जलाशययुक्त आयोजना अध्ययन भइरहेको छ । केही जलविद्युत् आयोजनाहरु यही खोलामा निर्माणाधीन छन् ।
बहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत् आयोजना र तामाकोसी ३ए यसैको उपज हो । भौतिक पूर्वाधारमा आयोजनाका लागि सडकको काम धेरै गर्नु नपर्ने भएकाले पनि यस्ता आयोजना दोलखामा भित्रिएका हुन् । दोलखामा परियोजना आउन लामोसाँघु सडकले ठूलो भूमिका खेले पनि जिल्लाको उत्तरी भेगमा स्वदेशी लगानीमा निर्माण हुन लागेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले थप कठिन भीर छिचोलेर सडक निर्माण गरिदिएपछि अरु आयोजनाका लागि अझ सहज भएको छ ।
सडक पूर्वाधार पुगेका कारण नै माथिल्लो तामाकोसी आयोजना बाहेर दोलखाको तामाकोसी नदी र त्यस वरपरका सहायक खोलाहरुमा एक दर्जन अन्य जलविद्युत् आयोजना निर्माणाधीन छन् । रामेछाप, ओखलढुंगा र सोलुको सीमाको रूपमा लिखु खोलामा एक दर्जन ठाउँमा आयोजना अध्ययन भएका छन् । आधा दर्जन निर्माणाधीन छन् ।
सडकका कारण स्थानीय उत्पादनले बजार पाएका छन् । रोजगारी खुलेको छ । शिक्षा, स्वास्थ्य, विद्युत्जस्ता पूर्वाधारलाई सहज बनाएको छ । जीवनस्तर उकास्न सहयोग गरेको छ ।