कारोबार संवाददाता
आइतवार, मंसिर १५, २०७६
176

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त भएका विभिन्न पदमा शनिबार शान्तिपूर्ण रुपमा उपनिर्वाचन सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार तीनै तहमा गरी कुल ६५.४३ प्रतिशत मत खसेको छ ।
रौतहट र हुम्लामा सबैभन्दा बढी ८५ प्रतिशत मत खसेको छ भने रोल्पाको थवाङमा वडाध्यक्षका लागि भएको मतदानमा सबैभन्दा कम १६.४ प्रतिशतमात्रै मत खसेको छ । शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनमा मतदाताको उत्साहपूर्ण सहभागिता रहेको बताए ।

मतदानका क्रममा कास्की, लमजुङलगायत ठाउँमा बम विस्फोट भए पनि त्यसले खासै असर नपरेको उनले बताए । आयोगले मतदाता परिचयपत्र नभए पनि अन्तिम मतदाता नामावलीमा नाम भएका मतदातालाई नागरिकता, लाइसेन्स, राहदानीलगायत परिचयपत्रबाट पनि मतदान गर्न दिएको थियो ।
तीनै तहका रिक्त पदका लागि कुल चार लाख ५४ हजार मतदाता थिए । तीमध्ये दुई लाख ९७ हजार मत खसेको छ । आयोगले भने ७० प्रतिशत मत खने अनुमान गरेको थियो ।
संघीय निर्वाचन क्षेत्र सदस्यका लागि कास्की–२ मा भएको उपनिर्वाचनमा ६५ प्रतिशत मत खसेको आयोगको भनाइ छ । यहाँ २०७४ सालमा खसेकोभन्दा कम मत खसेको छ । कास्की २ मा ४६ हजार पाँच सय मत खसेको हो ।
यस्तै भक्तपुरमा ७० प्रतिशत, दाङमा ६७ प्रतिशत, धरानमा ५९ प्रतिशत मत खसेको छ ।
उपनिर्वाचनका लागि चार सय १९ पर्यवेक्षक खटिएका थिए । निर्वाचन आयोगले मतपेटिका संकलन गरेपछि राजनीतिक सहमति गरेर शनिबारदेखि नै मतगणना थाल्न जिल्लास्थित मुख्य निर्वाचन अधिकृत कार्यालयलाई आग्रह गरेको छ । शनिबार रातिसम्ममा कतिपय स्थानीय तहको नतिजा नै आइसकेको छ भने कतिपयमा गणना जारी छ ।