दीननाथ बराल
आइतवार, मंसिर १५, २०७६
168

पोखरा-कास्की क्षेत्र नम्बर २ अन्तर्गत प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि शनिबार भएको निर्वाचनमा करिब ६४ प्रतिशत मत खसेको छ । शनिबार सम्पन्न उपनिर्वाचनमा करिब ६४ प्रतिशत अर्थात् ४५ हजार जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय कास्कीका निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले बताए । कास्की २ मा ७१ हजार ८ सय ७१ जना मतदाता संख्या रहेको छ ।
उपनिर्वाचनमा पुरुष भन्दा ६ प्रतिशत अर्थात् २ हजार ७ सय जना बढी महिला सहभागिता भएको निर्वाचन अधिकारी सुवेदीले बताए । उनका अनुसार महिला ५३ प्रतिशत अर्थात् २३ हजार ८ सय ५० जना र पुरुष ४७ प्रतिशत अर्थात् २१ हजार १ सय ५० जनाले आफ्नो मत दिएका हुन् ।

पोखरा महानगरभित्रका ११ वटै वडामा ३२ मतदान स्थलमध्ये ८२ मतदान केन्द्रमा छिटफुट घटनाबाहेक सौहार्दपूर्ण रुपमा मतदान सम्पन्न भएको निर्वाचन अधिकारी सुवेदीले बताए । कास्की–२ मा १० स्वतन्त्र सहित २१ जना उम्मेदवार रहेका छन्।
पोखरामा मतदान स्थलनजिक बम विष्फोट पनि भएको छ । निर्वाचन हुनु पुर्व करिब १५ मिनेटअघि, निर्वाचनको समयमै र मतदान सुरु भएको एक घण्टापछि गरी पोखराका चार छुट्टाछुट्टै ठाउँमा निर्वाचन स्थल नजिक बम विष्फोट भएको हो । विष्फोटका कारण मतदान भने रोकिएन । घटनामा संलग्न भएको आशंकामा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए ।
उम्मेदवारहरुले नाम दर्ता गराउँदा जिल्ला निर्वाचन कार्यालय नजिक, पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडा अध्यक्ष शिव प्रसाद आचार्यको पार्किङमा राखेको गाडीमा र नेकपाको चुनावी सभा स्थल नजिक बम बिस्फोट भएको थियो ।
जिल्ला प्रशासन कार्यालय कास्कीबाट सवारी अनुमतीपत्र नलिई निर्वाचनका बेला पोखरामा संचालनमा आएका करिब ५ सय वटा सवारी साधनहरु प्रहरीले नियन्त्रणमा लिएको थियो ।
कास्की २ मा १० स्वतन्त्रसहित २१ जना उम्मेदवार चुनावी मैदानमा छन् । गत २१ कात्तिकमा २५ जनाको उम्मेदवारी परेकोमा स्वतन्त्र उम्मेदवारी दिएका एकले उम्मेदवारी फिर्ता लिएका हुन् भने ३ दलका उम्मेदवारको नाम समानुपातिक बन्दसूचीमै रहेकोले हटाइएको थियो । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएपछि यहाँ उपनिर्वाचन भएको हो ।
नेकपाको तर्फबाट विद्या भट्टराई, नेपाली कांग्रेसबाट खेमराज पौडेल, समाजवादी पार्टीका धर्मराज गुरुङ, साझा पार्टीकी रजनी केसी उम्मेदवारको रुपमा चुनावी मैदानमा रहेका छन् । त्यसैगरी रापप्राका रोमबहादुर भण्डारी, राप्रपा संयुक्तका गंगा मल्ल, मंगोल नेशनल अर्गनाइजेशनका रियाज गुरुङ, नेकपा मालेका टेकनाथ भण्डारी, देशभक्त्त समाजबाट विरबहादुर विश्वकर्मा, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्ण बहादुर राना, नेपाली कांग्रेस (बिपी) बाट चन्द्रबहादुर रानाभाट चुनावी मैदानमा रहेका छन् ।