कारोबार संवाददाता
बुधवार, मंसिर ४, २०७६
394

तेह्रथुम- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपाको सरकारले जन चाहनाअनुसारको काम गर्न नसकेको बताएका छन् । तेह्रथुमको म्याङलुङमा मंगलबार प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले सरकार दुई तिहाईको दम्भले ग्रसित भएर बौलाएको संज्ञा दिए ।
नेता पौडेलले वर्तमान सरकारले सबै क्षेत्रमा हस्तक्षेप गरेर राज्यमा ठूलो विचलन पैदा गरेका आरोप लगाए । संचार, स्वास्थ्य, शिक्षा र सुरक्षाको क्षेत्रमा सरकारले ठाडो हस्तक्षेप गरी आतंक मच्चाएको नेता पौडेलकोे दाबी थियो । नेपालको सिमाना भारतले मिचेपनि चुप लागेर बस्नुले ओली सरकारको खोक्रो राष्ट्रवाद झल्किएको उनले धारणा राखे ।
संविधानको मर्म विपरित नेकपा सरकार उन्मुख रहेकोले नेपाली जनतामा वितृष्णा सिर्जना भएको नेता पौडेलको भनाइ थियो । देशमा संकट परेको बेला कांग्रेसले मात्र उन्मुक्ति दिएको इतिहास जगजाहेर रहेको प्रट्याउँदै उनले कांग्रेसले मात्र देशको हितमा काम गर्न सक्ने प्रष्ट्याए ।