कारोबार संवाददाता
सोमवार, मंसिर २, २०७६
365

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा सांसद सोमप्रसाद पाण्डेले सरकारले भारत सरकारसँग सीमा विवाद समाधानको लागि तत्काल वार्ता तथा छलफल अघि बढाउने तयारी गरेको स्पष्ट पारेका छन् । उनले भने, “वर्तमान सरकारले एक इन्च पनि जमिन गुम्न दिँदैन । सरकार सीमा सुरक्षाको लागि पूर्ण प्रतिबद्ध छ । हामी सीमा सुरक्षाको लागि कुनै सम्झौता गर्दैनौं । हामी कूटनीतिक रुपमा समस्याको समाधान गर्छौं । मैले थाहा पाएअनुसार सरकारले छिट्टै भारतसँग वार्ताको लागि पहल गर्दैछ ।”
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता पाण्डेले सुगौली सन्धिमा नै भारतसँगको सीमाको बारेमा सबै कुरा टुंगो लगाइसकेको सुनाए । उनले भने, “सुगौली सन्धिमै स्पष्ट नक्शा छ । त्यसले काम गर्छ । कालापानी र लिपुलेक अहिले चासो र संवेदनशील विषय हो, यो सबैको मनमनमा भिजेको छ । यो आजको विषय होइन । लिपुलेकबाट भारतीय सेना हटाउनुपर्छ । कालापानी नेपालकै भूभाग हो । यो कुरा सुगौली सन्धिमै उल्लेख गरिएको छ । यसमा कुनै द्धिविधा छैन । काली नदी यताका टिंकर, कालापानी, लिपुलेक नेपालकै हो ।”
उनले भारतीय सेनाले तत्काल उक्त नेपाली भूभाग छोड्नुपर्ने बताए । उनले भने, “यो विवाद अब टुंगो लगाउनुपर्छ । भारतीय सेना त्यहाँबाट फिर्ता हुनुपर्छ भनेर आज प्रधानमन्त्रीज्यूले पनि बोलिसक्नुभएको छ । कूटनीतिक माध्यमबाट छलफलको ढोका खोलिनुपर्छ । सरकारले सबै तयारी गरिसकेको छ ।”