कारोबार संवाददाता
सोमवार, मंसिर २, २०७६
308

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले देशका नेताहरुको सत्ता स्वार्थले गर्दा देश सुरक्षित हुन नसकेको टिप्पणी गरेका छन् । आइतबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनले भने, “देश भनेको सबैको साझा हो । देशप्रति जनता इमानदार छन् । तर, नेताहरु इमानदार भएनन् ।” सरकारमा बसेका नेताहरुभन्दा जनता इमानदार रहेको उनको भनाइ छ ।
उनले नेपालको सुरक्षा निकाय पनि देशको सीमाप्रति संवेदनशील नभएको गुनासो पोखे । उनले भने, “सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी कोहीपनि सीमानामा देखिएनन् । सरकारले उनीहरुलाई सीमा सुरक्षाको लागि कतै पनि पठाएको छैन । यो गम्भिर प्रश्न हो । तराई जाउँ वा उत्तरपट्टिको कोरला नाकाको कुरा होस्, पीडा छन् ।” तराईका जनताले पनि धेरै दुःख पाएको उनको भनाइ छ ।

उनले भने, “नेपालको सुरक्षा सरकारले वा नेपालका नेताले गरेका होइनन् । हाम्रो सीमाको सुरक्षा त नेपाली जनताले गरेका हुन् ।”
उनले सुस्ता, सप्तरी, सर्लाही, कञ्चनपुर, कोरला नाका सबैतिर समस्या रहेको सुनाए । उनले भने, “कोरला नाकामा चीनले आफ्नोतर्फ बलियो उपस्थिति बनाएको छ । उसको सेनाको बलियो उपस्थिति छ । तर, नेपालतर्फ सुनसान छ । हाम्रोतर्फ ठगहरुको सलबलाहट छ । त्यही भएर सीमा मिचिएको छ ।” भण्डारीले मुलुकमा धेरै सरकार गठन भएको र धेरै प्रधानमन्त्री भएपनि नेतामात्रै धनी भएको तर देश र जनताको अवस्था दयनीय रहेको टिप्पणी गरे ।
नेपालको सरकार कमजोर हुँदा ठूला छिमेकीलाई फाईदा पुगेको उनको भनाइ छ । उनले भारत र चीन दुवैसँग सीमाको विवाद कूटनीतिक रुपमा हल गरिनुपर्ने सुझाव दिए ।