दीननाथ बराल
आइतवार, मंसिर १, २०७६
489

पोखरा-प्रतिनिधिसभा कास्की क्षेत्र नं. २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराईले आफ्नो सम्पत्ति छानविन गर्दा दोषी ठहरिएमा आफू दण्डित हुन तयार भएको बताएकी छन् । नेपाल पत्रकार महासंघको आयोजना र महासंघ कास्की शाखाको समन्वयमा पोखरामा शुक्रबार भएको प्रतिनिधि सभा उपनिर्वाचन उम्मेदवार सम्बाद कार्यक्रममा बोल्दै उम्मेदवार भट्टराईले आफूमाथि लागेको आरोप छानविन गर्न आग्रह गर्दै यदि छानविन पश्चात आफू दोषी ठहरिएमा जस्तोसुकै दण्ड सजाय भोग्न तयार रहेको बताएकी हुन् ।
तत्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारीको जस लिनेले अपजस पनि लिनुपर्ने बताउँदै उनले रविन्द्र अधिकारीले सुरु गरेका राम्रा कामलाई निरन्तरता दिँदै आरोपित कुराको छानविन गर्न आग्रह गरेकी हुन् । आरोप लगाउँदैमा व्यक्ति गलत नहुने बताउँदै उनले राजनीतिक आस्थाका आधारमा आरोप लगाइने गरेको गुनासो गरिन् ।

उम्मेदवार भट्टराईले आफू योग्य महिला भएका कारण पार्टीले आफूलाई अघि सारेको हुँदा चुनावी मैदानमा उत्रिएको बताइन् ।
नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले आफू महिला सुकुम्बासी आयोगको अध्यक्ष हुँदा कुनै अनियमितता नगरेको दाबी गरे । उनले भने, “म सुकुम्बासि आयोगको अध्यक्ष हुँदा कुनै अनियमितता गरेको छैन, यदि तपाईहरुलाई त्यसो लाग्छ भने बस्ती बस्तीमा गएर सोध्न सक्नु हुन्छ, यदि मैले अनियमितता गरेको भए सबैमाझ मैले माफि मागेर उम्मेदवार नै फिर्ता लिन्छु ।”
उम्मेदवार पौडेलले आफू शारीरिक रुपमा सक्षम भएको बताउँदै आफ्नो उमेरले अहिलेसम्म कुनै पनि काम गर्न नछेकेको र नरोकेको जनाए । उम्मेदवार पौडेलले व्यक्ति विचारले कहिले पनि बुढो नहुने बताए ।
समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङले एक रुपैयाँ पनि भ्रष्टचार नगर्ने दाबी गरे । उनले भने, “मेरो दुई वटा पेन्सन भएको हुँदा राज्यका कुनै पनि विकास निर्माणमा मैले कुनै अनियमितता र भ्रष्टचार गर्दिन ।” देशमा सिस्टम नहुँदा बेतिथि भएको उनले जनाए ।
साझा पार्टीकी उम्मेदवार रजनी केसीले आफूहरुको लागि एक सिट भए पनि ठूलो मूल्य भएको बताइन् । उनले भनिन्, “यो निर्वाचनले सत्तापक्ष र प्रतिपक्षलाई एक सिट जितेले कुनै निर्णायक भूमिका रहँदैन तर साझा पार्टीको लागि निकै ठूलो महत्व रहन्छ ।”