कारोबार संवाददाता
बिहिवार, कार्तिक २८, २०७६
331

आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि बुधबार उमेदवारहरुले मनोनयन दर्ता गरेका छन् । उपमहानगरपालिका, नगरपालिका तथा वडाहरुमा रिक्त भएका स्थानका लागि उमेदवारी मनोनयन भएको हो ।
निर्वाचन आयोगले स्थानीय तहका उम्मेदवारहरूको उम्मेदवारी मनोनयनका लागि बुधबार बिहान १० बजेदेखि दिउँसो साढे १ बजेसम्मको समय तोकेको थियो । धरानको रिक्त मेयरका लागि उम्मेदवारी दिन बिहानैदेखि चहलपहल देखिएको थियो ।

विभिन्न दलले शक्ति प्रदर्शनसहित उमेदवारी मनोनयन गराएका छन् । नेपाली कांग्रेसका तिलक राई र नेकपाका प्रकाश राईले मेयर पदका लागि उमेदवारी मनोनयन गराए । त्यसैगरी अन्य दल र स्वतन्त्र उमेदवारले पनि मनोनयन दर्ता गराएका छन् ।
उता, कोहलपुर नगरपालिका–६ को वडाध्यक्षका लागि नेकपा, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले उमेदवारी दर्ता गरेका छन् । २०७५ मङ्सिर ९ गते वडाध्यक्ष रामसोहन थारुको निधनपछि रिक्त पदका लागि कोहलपुर वडा नंं. ६ मा उपनिर्वाचन हुन लागेको हो ।
नेकपाबाट रामशरण थारु, कांग्रेसबाट श्रीकृष्ण थारु, राप्रपाबाट श्रीधर सुवेदी, समाजवादी पार्टीबाट शुभाखर पोख्रेल र नेमकिपाबाट दिपालक्ष्मी हमालले उमेदवारी दर्ता गराएको संवाददाता लक्ष्मण ढुंगानाले जनाएका छन् ।
यस्तै, दाङको घोराही उपमहानगरपालिका वडा नं. १६ मा सात जनाले उमेदवारी दर्ता गराएका छन् । पाँच राजनीतिक दलसहित दुई जनाले स्वतन्त्र उमेदवारी दर्ता गराएको अमरराज आचार्यले जनाएका छन् ।
नेपाली कांग्रेसबाट ताराबहादुर डाँगी, सत्तारुढ नेपाल कम्युनिट पार्टी (नेकपा) बाट सुरेशबहादुर केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रकाश केसी, समाजवादी पार्टीबाट विमला पुन र मंगोल नेशनल अर्गनाईजेशनबाट पहलमान आले मगरले उमेदवारी दर्ता गराएका छन् । जगलाल चौधरी र समीर वलीले स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका प्रमुख तथा फिदिम नगरपालिका–१ र हिलिहाङ– ७ मा वडाध्यक्षको उपनिर्वाचनका लागि २१ जनाले मनोनयन दर्ता गरेको दीपक बोहोराले जनाएका छन् । फाल्गुनन्द गाँउपालिकाको प्रमुख पदमा आठ जनाको उमेदवारी दर्ता भएको छ । फिदिम–१ का लागि सात जनाले उमेदवारी दर्ता गराएका छन् । हिलिहाङ ७ कोे वडाध्यक्षको लागि छ जनाको उमेदवारी दर्ता भएको छ ।
फाल्गुनन्द गाउँपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका वृजहाङ आङ्देम्बे, नेकपाका वीरबहादुर कुरुम्बाङ, समाजवादी पार्टीकी विमला नेम्बाङ (आङ्देम्बे)े, राष्ट्रिय प्रजातन्त्र पार्टीका ससुहाङ चेम्जोङ (सुजन), राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका मोतिप्रसाद लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जीतेन चोम्जोङ, राष्ट्रिय जनमुक्ति पार्टीका इच्छाबहादुर चेम्जोङ र मंगोल नेशनल अर्गनाइजेसनका उदय सुनुवारले उदमेवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाकारी दिएको छ ।
पाँचथरको फाल्गुनन्द गाउँपालिकामा कांग्रेसबाट विजयी भएका अमरकुमार नेम्वाङको २०७५ माघमा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
संखुवासभाको मकालु गाउँपालिका र खाँदबारी वडा नं. ३ को अध्यक्षका लागि हुन लागेको निर्वाचनका लागि पनि उमेदवारी मनोनयन भएको कृष्णराज शाक्यले जनाएका छन् ।
मकालुमा गाउँपालिका अध्यक्ष र खाँदबारी ३ मा वडाध्यक्ष पद खाली छ । मकालु गाउँपालिकाको लागि नेकपाले तेजबहादुर पोखरेललाई उमेदवार बनाएको छ भने नेपाली कांग्रेसले युवा नेता विमल पराजुलीलाई उमेदवार घोषणा गरेको छ । संघीय समाजवादीले नुर्वु शेर्पालाई उमेदवार घोषणा गरेको छ ।
प्यूठानका रिक्त तीन वडा अध्यक्ष पदमा ८ जनाले उमेदवारी मनोनयन दर्ता गराएको प्रज्वल पहाडीले जनाएका छन् । ऐरावती गाउँपालिका वडा नम्वर १ दाङवाङ र वडा नम्वर २ बरौरामा एक÷एक जना स्वतन्त्र उमेदवार सहित तीन÷तीन जनाको उमेदवारी मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।