कारोबार संवाददाता
बिहिवार, कार्तिक २८, २०७६
403

नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बुधबार दिनभर उच्चस्तरीय भेटघाटमा व्यस्त रहे । राष्ट्रपति हमिदले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री, केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायतसँग भेट गरे । नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बुधबार दिनभर उच्चस्तरीय भेटघाटमा व्यस्त रहे । राष्ट्रपति हमिदले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री, केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायतसँग भेट गरे ।
 प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँगको भेट फलदायी भएको बताएका छन् । बुधबार प्रधानमन्त्री ओली र बंगलादेशका राष्ट्रपतिबीच होटल मेरियटमा भेट भएको हो । प्रधानमन्त्री ओलीले ट्विटमा लेखेका छन्, “बंगलादेशका राष्ट्रपति श्री मो. अब्दुल हमिदसँगको भेट फलदायी भएको छ । नेपाल सरकार, नेपाली जनता, आफ्नो व्यक्तिगत तर्फबाट राष्ट्रपति हमिद, उनकी श्रीमति र प्रतिनिधिहरुलाई हार्दिक स्वागत गर्दछु । उहाँहरुको नेपाल बसाइ सुखद बनोस् ।“ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि हअिदसँग शिष्टाचार भेट गरे । भेटमा दुई देशबीच आपसी हित, आर्थिक साझेदारी र विकासका विषयमा समेत छलफल भएको भेटवार्तामा सहभागी कांग्रेस नेता डा. नारायण खड्काले जानकारी दिए ।

 भेटमा सभापति देउवाले व्यापार, ‘कनेक्टीभिटी’, जलविद्युत् आयोजना निर्माण र नेपालबाट विद्युत् खरीद गर्ने विषयलाई प्राथमिकतामा राखेर कुराकानी गरेका थिए । प्रतिउत्तरमा राष्ट्रपति हमिदले नेपालमा लगानी गर्न इच्छा व्यक्त गर्नाका साथै विद्युत् खरीद गर्न पनि बंगलादेश तयार रहेको बताएको खड्काले जानकारी दिए । राष्ट्रपति हमिदले उच्चस्तरीय भ्रमण कम भएको प्रसङ्ग जोड्दै भ्रमण बढाउनुपर्नेमा पनि जोड दिएका थिए । राष्ट्रपति हमिदसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पनि शिष्टाचार भेट गरे । भेटमा दुई देशबीच आपसी सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । सो क्रममा राष्ट्रपति हमिदले बदलिँदो परिस्थितिमा कसरी सहयोग र सहकार्य गर्न सकिन्छ भन्ने विषयमा मिलेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । नेपाल र बंगलादेश विकास र राजनीतिक स्थिरताको मार्गमा अगाडि बढिरहेको प्रसङ्ग जोड्दै राष्ट्रपति हमिदले चुनौती सामना गर्न साझारूपमा लाग्नुपर्नेमा जोड दिए । 
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको चारदिने औपचारिक सद्भावना भ्रमणका लागि हमिद मंगलबार नेपाल आएका हुन् । बिहीबार उनले पर्यटकीय क्षेत्र पोखराको भ्रमण गर्दैछन् भने काठमाडौँ चन्द्रागिरिको समेत भ्रमण गर्ने कार्यतालिका छ । उनी भ्रमण सम्पन्न गरी कात्तिक २९ गते स्वदेश फर्कनेछन् ।