कारोबार संवाददाता
बुधवार, कार्तिक २०, २०७६
283

नेपालगञ्ज-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले प्रदेश न. ५ को राजधानी सबैलाई सुविधा हुने स्थानमा हुने बताएका छन् । नेपालगञ्ज उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत, भेटघाट तथा समसामयिक विषयमा छलफल कार्यक्रममा अध्यक्ष प्रचण्डले सबैलाई सहज र सुविधा हुने ठाउँमा प्रदेश राजधानी बनाउनुपर्ने बताएका हुन् ।
राजधानी तोक्दा कुनै आग्रह पूर्वाग्रहमा टेकेर, राजनीतिक नाफा नोक्सान हेरेर नभई प्रदेशको समग्र हितलाई हेरेर टुंगो लगाउनुपर्ने अध्यक्ष प्रचण्डको भनाइ थियो । अध्यक्ष प्रचण्डले भने, “सबैलाई सहज र सुविधा हुने ठाउँमा प्रदेश राजधानी तोकिनु पर्छ । त्यसमा मेरो पहलकदमी भइरहेको छ ।” त्यसका लागि आफूले प्रधानमन्त्रीका साथै पाटीका अन्य नेताहरुसँग छलफल गरेको बताउँदै उनले राजधानी पुरानो बजार भएको ठाउँमै बनाउनुर्पछ भन्ने नभई नयाँ ठाउँमा पुर्वाधार विकास गरेर पनी बनाउन सकिने बताए ।

नेपालगञ्जका उद्योगी व्यापारीले ७ बुँदे मागपत्र बुझाउँदै प्रदेश नम्वर ५ को राजधानी बाँकेमा हुनुपर्ने, त्यो नभए पायक पर्ने ठाउँमा हुनुपर्ने, नेपालगञ्जलाई महानगरपालिका बनाईनुपर्ने, औद्योगिक नगरी हुनुपर्ने, अन्तर्राष्ट्रिय विमानस्थल, सिटी हलको जग्गा फिर्ताका लागि पहल गर्न आग्रह गरेका थिए ।
व्यवसायीहरुका मागको जवाफमा प्रचण्डले नेपालगञ्ज कुनै पनि हालतमा पछि नपर्ने आश्वासन दिए । २००७ सालको क्रान्तिमा नेपालगञ्ज पश्चिमको केन्द्र भएको बताउँदै त्यतिबेलाको ठूलो परिवर्तनमा नेपालगञ्जले अगुवाई गरेको अध्यक्ष प्रचण्डले स्मरण गरे । “त्यही भएर अघिल्लो पटक आउँदा मैले नेपालगञ्जको अभिभावक बन्छु भनेको थिएँ,” प्रचण्डले भने ।
अध्यक्ष प्रचण्डले अब नेपालगञ्जमा अन्तराष्ट्रिय विमानस्थल बन्ने पालो आएको बताए । पोखरा र लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल बनीसकेको बताउँदै अब नेपालगञ्जको पालो रहेको बताए । उनले उत्तर–दक्षिण सडक फराकिलो हुनेबित्तिकै नेपालगञ्ज व्यापारिक, पर्यटकीय केन्द्रमात्रै नभएर कैलाश मानसरोबर जाने मुख्यद्वार हुनेमा विश्वास व्यक्त गरे ।
मंगलबार बिहान नेपालगञ्ज विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले संवैधानिक प्रावधान अनुसार नै नयाँ प्रदेश प्रमुख नियुक्ति गरेको बताएका थिए । प्रदेश प्रमुख सरकारको प्रतिनिधिको रूपमा काम गर्ने भएकोले सरकार परिवर्तनपछि प्रदेश प्रमुख नियुक्ति हुनु स्वभाविक नै भएको बताए ।
“सरकार उदार भएकोले दुई वर्षसम्म काम गर्न दिएपनि अहिले सरकारले अब फेर्न उचित हुने ठानेर प्रदेश प्रमुख फेरिएको हो,” उनले भने । प्रदेश प्रमुख हटाउने र नयाँ राख्ने प्रक्रिया सरकारको क्षेत्राधिकारको कुरा भएकोले यसलाई ठूलो ठान्नुपर्ने विषय नभएको उनको भनाइ थियो ।
अध्यक्ष ‘प्रचण्ड’ले सचिवालय बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले आफ्ना मान्छे नपरेपछि ‘नोट अफ डिसेन्ट’ लेखेको बताए । बैठकमा नेता नेपालले आफ्नातर्फबाट प्रदेश प्रमुखका लागि नाम प्रस्ताव गरे पनि नपरेपछि आफूलाई चित्त नबुझेको कुरामा नोट अफ डिसेन्ट लेख्ने कुरा पनि सामान्य र स्वभाविक प्रक्रिया भएको उल्लेख गरे ।