धर्मेन्द्र कर्ण
मंगलबार, आश्विन २८, २०७६
476

चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणबाट नेपाललाई कूटनीतिक अलमलबाट सहज हुन पुगेको देखिएको छ । परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताएअनुसार विश्व दुई ठूला अर्थतन्त्रबीचको कूटनीतिक चेपमा नराम्ररी फसेकोमा अहिले नेपाललाई सहज भएको छ ।
अमेरिकाले ५० करोड अमेरिकी डलर बराबरको परियोजनामा हस्ताक्षर गरेर त्यसलाई इन्डो प्यासिफिक स्ट्राटेजीसँग जोडेपछि नेपाल समस्यामा परेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले चीन भ्रमणका क्रममा राष्ट्रपति सीलाई नेपाल आउन औपचारिक भ्रमणको निम्तो दिएकी थिइन् ।

त्यसयता नेपाल अमेरिकाको इन्डो प्यासिफिक स्ट्राटेजीमा जान लागेको र त्यस अनुरूपको परियोजनासम्बन्धी सन्धीलाई संसदबाट पारित गराउन विधयेक समेत तयार पारिएको थियो । सन्धीलाई सदनबाट पारित गराउन विधेयक दर्ता समेत गरियो ।
उता चीनसँगका सम्झौता र बीआरआईको विषयमा सरकारले दिनुपर्ने महत्व नदिएपछि चिनियाँ पक्ष रिसाएको थियो । त्यसैकारण राष्ट्रपति सीको नेपाल भ्रमण संकटमा परेको थियो ।
यो विषय सदनमा समेत उठ्यो । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सदनमा नेपाल इन्डो प्यासिफिकमा सामेल नभएको स्पष्टीकरण दिए । नेपालको कूटनीतिक कमजोरीको पनि आलोचना भएको थियो । राष्ट्रपति सीको भ्रमणको तयारीमा खेलिएका भूमिकाहरूबाट दुबै देश स्पष्ट गरेका छन् । अमेरिकाले एमसीसी अन्तर्गतका परियोजना इन्डो प्यासिफिक क्षेत्रमा ७० वर्षदेखि सञ्चालनमा रहेको र यो स्ट्राटेजी नभएर नीति भएको स्पष्टीकरण दियो ।
अमेरिकी परियोजनाबारे विवाद भएपश्चात असोज १२ मा नेपाल सरकारकाले त्यसको कार्यान्वयन गर्ने सम्झौता ग¥यो । सीको भ्रमणअघि नेपाल आएका चिनियाँ विदेशमन्त्रीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेट गरेपछि प्रचण्डले नेपाल इन्डो प्यासिफिक स्ट्राटेजीमा नभएको बताएका थिए ।
यी सबै विषय चिनियाँ पक्षलाई परेको आंशकालाई हटाउन गरिएको थियो । सीको भ्रमणअघि नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले सो अमेरिकी परियोजना कार्यान्वयन गर्ने सम्झौता गरेपछि चिनियाँ पक्ष यसबाट स्पष्ट भएको परराष्ट्र स्रोतले जनाएको छ ।
साथै चीनले अमेरिका र भारतलगायतका देशलाई नेपालमा चीनको उपस्थितिबाट नतर्सन स्पष्ट पारेको छ । चीनले दुई उदाउँदो अर्थतन्त्रबीच रहेको नेपाल कतिपय विषयमा अविकसित रहेको र यसका लागि अन्य देशले सहयोग गर्न सक्ने जनाएको छ ।
नेपाललाई सहयोग गर्ने महत्वपूर्ण देशहरूमा अमेरिका एक महत्वपूर्ण देश रहेको तर इन्डो प्यासिफिक स्ट्राटेजी ‘खाली पोको’ भएको टिप्पणी हुने गरेको छ ।
चीनले नेपालमा सहयोग गर्न खोज्नु भनेको नेपालका विकास साझेदार देशहरूलाई बाहिर पठाउन नरहेको आफ्ना सञ्चार माध्यमबाट विचार सार्वजनिक गरेपछि नेपालको अवस्था पहिलेको भन्दा सहज भएको देखिएको परराष्ट्रका ती अधिकारीले जनाए । नेपालले बीआरआई र अमेरिकाको एमसीसी परियोजनामा देशहितमा अगाडि बढाउन सक्ने अवस्था बनेको छ । उनका अनुसार केही समस्या रहेको थियो ।
राजपाका सहमहामन्त्री डा. सुरेन्द्र झाले राष्ट्रपति सीको भ्रमणबाट केही सहजता निःसन्देह भएको बताए । तर नेताहरूले देशका औपचारिक प्रमुख राजनीतिक दलको सहभागीतामा संघीय लोकतान्त्रिक गणतन्त्रको विदेश नीति बदलिँदो परिवेशमा कस्तो हुने विषयमा निक्र्यौल निकाल्न ढिला गर्न नहुनेमा उनले जोड दिए ।