कारोबार संवाददाता
सोमवार, आश्विन २७, २०७६
423

 
 सी चिनफिङको नेपाल भ्रमण


राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ नेपालको द्विदिवसीय राजकीय भ्रमण पूरा गरी आइतबार अपराह्न विशेष विमानबाट स्वदेश प्रस्थान गरेका छन् । राष्ट्रपति भण्डारीले आफ्ना चिनियाँ समकक्षी सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरिन् । 
राष्ट्रपति भण्डारीले चिनियाँ प्रतिनिधिमण्डलका सबै सदस्यलाई बिदाइ अभिवादन गरेकी थिइन् ।  यसैगरी चिनियाँ विशिष्ट अतिथिलाई उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले  पनि बिदाइ गरे । चिनियाँ राष्ट्रपतिको बिदाइका लागि विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्रीद्वयसहित मन्त्रिपरिषद्का सदस्यहरु, उपसभामुख, प्रदेश नं ३ का मुख्यमन्त्री, संवैधानिक अंगका प्रमुख तथा पदाधिकारीहरु, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृतहरु, चीनका लागि नेपाली राजदूत र नेपालका लागि चिनियाँ राजदूत तथा यहाँस्थित चिनियाँ दूतावासका उच्च अधिकारीहरुको उपस्थिति थियो ।
सीलाई नेपाली सेनाको एक टुकडीले राष्ट्रपतीय सम्मान गारत प्रदान गरेको थियो । सी बसेको सोल्टी होटलदेखि त्रिभुवन विमानस्थलसम्म उनी सवार हुने मार्गमा राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र सर्वसाधारणले उनको बिदाइ गरेका थिए । दिउँसो १ः४५ बजे राष्ट्रपति सी आवासीय स्थल सोल्टी होटलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाँदा उनको बिदाइका लागि कर्मचारी र सर्वसाधारण १२ बजेदेखि नै सडकमा दुवै देशको झण्डा लिएर प्रतीक्षारत थिए । उनीहरूले करीब दुई घण्टाको प्रतीक्षापछि राष्ट्रपति सीलाई बिदाइ गर्न पाएका थिए ।  राष्ट्रपति सी सोल्टी होटलबाट विमानस्थल जाँदा सडकका दुवै किनारमा रहेका कर्मचारी, युवा, विद्यार्थी, बालबालिका र सर्वसाधारणले उनलाई नेपाल र चीनको झण्डा हल्लाएर बिदाइ गरेका थिए । 
बिदाइका क्रममा उनलाई विभिन्न जातजातिको पहिचान झल्कने झाँकी, पञ्चैबाजा र नाचसमेत प्रदर्शन गरिएको थियो । कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डल, बबरमहल, नयाँबानेश्वर, तीनकुने र विमानस्थलद्वारसम्म उनको बिदाइका लागि सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियोे । शनिबार अपराह्न ४ः४५ बजे दुई दिने राजकीय भ्रमणका लागि आएका सी आइतबार दिउँसो २ः१५ बजे स्वदेश फर्केका हुन् । राष्ट्रपति सीलाई स्वागतका लागि बाटोमा स्वागतद्वार, परम्परागत संस्कृति झल्कने ब्यानर, सडकको दुवैतर्फ फूलसमेत राखिएको थियो ।  चिनियाँ विशिष्ट पाहुनाको आवागमन हुने सडकमा ठाउँठाउँमा ‘सर्वोच्च शिखर सगरमाथाजस्तै उँचो नेपाल चीन मैत्री’, ‘नेपाल चीन मित्रता विशाल, गहन र अटल’, ‘बुद्ध र सगरमाथाको देशमा हार्दिक स्वागत छ’ लेखिएका ब्यानर र स्वागतद्वार बनाइएका थिए । 

 
प्रधानमन्त्री ओलीको भेटवार्ता


नेपालको राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चीनफिङसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार शिष्टाचार भेट गरे । दुई देशबीचको प्रतिनिधिमण्डस्तरीय वार्ता र सम्झौतापछि प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग उनी बसेको होटलमा अलग्गै भेटवार्ता गरेका थिए ।

 
सबै तहमा सम्बन्ध बढाउन नेकपा र चिनियाँ कम्युनिष्ट पार्टी सहमत

नेपालको राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चीनफिङले दुई देशबीच सरकार, जनता र कम्युनिष्ट पार्टी तहमा राजनीतिक सम्बन्धको दायरा र आयामलाई विस्तार गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेतासँग आग्रह गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवका हैसियतले राष्ट्रपति सीले सत्तारुढ नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सचिवालयका सदस्यसँगको भेटवार्तामा चीनमा आफूहरुले जनता र राष्ट्रलाई सही बाटामा डो-याएका कारण जनताको अपार समर्थन पाएको र उक्त सद्भाव जनताको सत्ताका रुपमा स्थापित र लोकप्रिय भएको उल्लेख गरे । 
भेटमा सहभागी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रपति सीले नेपालको राजनीतिक उपलब्धि र विकासको पहल र नेपालको विशेषतासहितको प्रयत्नलाई बधाई दिएको र चीन नेपालको विकासका प्रयासलाई सहयोग गर्न तत्पर रहेको विश्वास दिलाएको जानकारी दिए । “नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्छ । हामीबीच पहिलेदेखि नै राम्रो सम्बन्ध रहिआएको छ ।
यसलाई सबै तहमा विश्वास र विस्तार गर्नुपर्छ,” राष्ट्रपति सीको भनाइ उद्धृत गर्दै श्रेयठले भने, “हामीहरुबीचको सम्बन्धलाई सरकार जनता, पार्टीको तहमा अगाडि बढाउनुपर्छ । दुई कम्युनिष्ट पार्टी भएकाले हाम्राबीचको राजनीतिक तहमा सम्बन्धका दायरा र आयामलाई अगाडि बढाउनुपर्छ ।”चिनियाँ कम्युनिष्ट पार्टीले सन् १९४९ मा शक्ति आर्जन गरेका कारणले त्यसैको आधारमा मात्रै आफूहरु हिँडिरहेको भन्ने नभएको बताउँदै राष्ट्रपति सीले थपे, “शक्ति प्राप्त गरेका कारणले मात्रै होइन ।
कम्युनिष्ट पार्टीले आफूभित्रको अनुशासनलाई विशेष जोड दिनुपर्छ । त्यसलाई केन्द्रमा राखेर समाजवाद निर्माण गर्नुपर्छ । चीन र नेपालको बीचमा सकारात्मक पाटो मात्र छैन । चुनौतीका पहाड पनि छन् भन्ने बुझ्दै अगाडि बढ्नुपर्छ, जुन कुरा मैले हिजोको सम्बोधनमा समेत इङ्गित गरेकोे छु ।”भेटका अवसरमा नेकपाका अध्यक्ष दाहालले चीन र चिनियाँ कम्युनिष्ट पार्टीसँगको मित्रतालाई नेकपाले धेरै महत्व दिएको र एक चीन नीतिप्रति शब्दमा मात्र नभई व्यवहारमा समेत प्रतिबद्ध रहेको बताएका थिए ।
 राष्ट्रपति सी रहेको होटलमा भएको भेटवार्तामा नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र माधवकुमार नेपाल, सचिवालयका सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेता वामदेव गौतम, प्रवक्ता श्रेष्ठ र महासचिव विष्णुप्रसाद पौडेल एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहभागी थिए । राष्ट्रपति सी चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवसमेत भएकाले दुई पार्टीका स्तरमा छलफल भएको हो । यही असोज ७ गते काठमाडौंँमा नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच आपसी सम्बन्ध विस्तारबारे सम्झौता भएको थियो । भेटमा राष्ट्रपति सीका साथ चिनियाँ विदेशमन्त्री वाङ यी, अन्य नेता र नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी सहभागी थिए ।
 असोज ७ गते सम्पन्न सम्झौतामा उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने, वैचारिक र राजनीतिक छलफल तीव्र बनाउने र विकासका ढाँचा आदानप्रदान गर्ने उल्लेख गरिएको छ । नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालको उपस्थितिमा भएको सम्झौतापत्रमा नेकपा विदेश विभाग प्रमुख नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले हस्ताक्षर गरेका थिए । सोही अवसरमा सी विचारधाराबारे अन्तरक्रियासमेत गरिएको थियो ।

 

‘राष्ट्रपतिको भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा’


प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धले नयाँ उचाइ प्राप्त गरेको बताएका छन् । दुई दिवसीय राजकीय भ्रमण पूरा गरी सी स्वदेश फर्किएलगत्तै प्रधानमन्त्री ओलीले ट्विट गर्दै चीन–नेपाल सम्बन्धले थप गतिशीलता प्राप्त गरेको बताएका हुन् । “मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको छ । उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाइ र गतिशीलता प्राप्त गरेको छ,” उनले भनेका छन् ।

 

काठमाडौंमा चिनियाँ राष्ट्रपतिको दुई दिन

एयर चाइनाको विशेष विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विमानमै पुगेर स्वागत
पञ्चकन्याद्वारा पुष्प माला अर्पण
राष्ट्रपति भण्डारीद्वारा औपचारिक स्वागत
नेपाली सेनाद्वारा सम्मान गारद अर्पण
उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरुलगायत विशिष्ट व्यक्तिहरुद्वारा विमानस्थलमा स्वागत
अति विशिष्ट कक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा भेट
विमानस्थलबाट होटल सोल्टी प्रस्थान
राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा औपचारिक भेट
होटल सोल्टीमा आयोजित रात्रिभोजमा सहभागि र सम्बोधन
कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट
प्रधानमन्त्री ओलीसँग भेट
नेकपा शीर्ष नेताहरुसँग सामूहिक भेट
उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुईपक्षीय वार्तामा सहभागी
होटल सोल्टीबाट विमानस्थल प्रस्थान
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विमानस्थलमा विदाइ
एयर चाइनाको विशेष विमानमार्फत् स्वदेश प्रस्थान