दीननाथ बराल
बुधवार, आश्विन १५, २०७६
653

पोखरा-नेपालीहरुको महान पर्व दसैंका अवसरमा पोखरा क्षेत्रमा मात्र करिब एक अर्ब ५० करोड रुपैयाँ भन्दा बढीको मासुको खपत हुने भएको छ । हिमालपारीको जिल्ला मनाङ, मुस्ताङबाट ल्याइएका भेडा–च्यांग्रासहित विभिन्न जिल्लाबाट ल्याइएका खसी बोका, भैंसी, राँगा, र कुखुराको गरी पोखरा क्षेत्रमा दसैंमा करिब १ अर्ब ५० करोड रुपैयाँ भन्दा बढीको मासुको खपत हुने गरेको व्यवसायीहरुले बताउँछन ।
पोखरा क्षेत्रमा भेडा–च्यांग्राको मात्र करिब ५० करोडको कारोबार हुने गरेको छ । यस वर्ष पोखरामा करिब २० हजार भेडा च्यांग्रा भित्रिदैछन् । प्रतिभेडा च्यांग्राको मूल्य २० हजारदेखि ३० हजारसम्म पर्ने गरेको छ । व्यवसायीहरूले च्यांग्राको तयारी मासू प्रतिकेजी १ हजार ५ सय रुपैयाँले बिक्री गर्ने गरेका छन् ।

पोखराका व्यवसायी समितिले दसैंलाई लक्षित गरी पोखरामा ११ हजार खसीबोका बिक्री गर्ने तयारी गरेको छ । दसैं पर्वमा पोखरा क्षेत्रमा करिब २० करोड रुपैयाँ भन्दा बढीको खसी तथा बोकाको खपत हुने भएको पोखरा खसीबोका व्यवसायी समितिका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले बताए ।
त्यसैगरी पोखराको मियापाटन क्षेत्रमा दसैं पर्वलाई लक्षित गरी हाल ५ सयभन्दा बढी भैंसी तथा राँगा बिक्री हुने व्यवसायीहरूले बताए ।
पोखरा क्षेत्रमा यस वर्षको दसैंको अवसरमा करिब १० लाख किलो कुखुराको मासुको खपत हुने अनुमान गरिएको छ । पोखरा क्षेत्रमा दसैं पर्वको अवसरमा दैनिक जसो ५० हजार किलो कुखुराको मासुको खपत हुने गरेको पोल्ट्री व्यावसायी संघ कास्कीका अध्यक्ष गुरुप्रसाद पौडेलले बताए । करिब ६५ वटा पोल्ट्री व्यावसायीबाट कुखुरा उत्पादन हुने गरेको उनले जनाए । सामान्यतया प्रति पोल्ट्री व्यावसायीबाट करिब ४ देखि ७८ क्वीन्टलसम्म पोखरा क्षेत्रमा कुखुराको मासु उत्पादन हुने गरेको अध्यक्ष पौडेलले बताए । यसरी हेर्दा दशैंको अवसरमा १५ दिनको तथ्यांक हेर्दा करिब ४० करोडको कुखुराको खपत पोखरा क्षेत्रमा हुने गरेको देखिन्छ ।