कारोबार संवाददाता
बुधवार, आश्विन १५, २०७६
547

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हालै बाँके र तनहुँमा भएका घटनालाई ‘सत्ता संरक्षित नवमण्डले प्रवृत्ति’ को संज्ञा दिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार पत्रकार सम्मेलन आयोजना गरेर कांग्रेसले बाँकेमा जिल्ला सभापति किरण कोइरालामाथिको आक्रमण र तनहुँमा केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालमाथि भएको आक्रमणको प्रयासलाई यस्तो भनेको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, “बाँकेमा कांग्रेस जिल्ला सभापति किरण कोइरालामाथिको आक्रमण र तनहुँमा केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालमाथिको आक्रमण प्रयास नवमण्डले चरित्रको प्रकट स्वरुप हो । यसबीचमा फरक विचार प्रस्तुत गरेकै आधारमा चितवनमा एक युवामाथि गरिएको सांघातिक हमला पनि निन्दनीय छ ।”

पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान चलिरहेका बेला मुलुकका विभिन्न भागमा भएका विभिन्न संघ–संस्थाहरुको निर्वाचन परिणाम आप्mनो विपक्षमा आएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आक्रोश पोख्न बाँके र तनहुँमा आक्रमण कांग्रेसमाथि आक्रमणमा उत्रिएको कांग्रेसले दाबी गरेको छ । शर्माले भने, “जागरण अभियान चलिरहेकै समयमा देशका विभिन्न भागमा विभिन्न संस्थाहरुको निर्वाचन परिणाम सत्तारुढ समर्थनको विपक्षमा र नेपाली कांग्रेसनिकट उमेदवारहरुको पक्षमा प्राप्त भए । कांग्रेसको पक्षमा रुपान्तरित हुँदै गएको जनमतलाई ती निर्वाचनको परिणामसँगै हजारौंको पार्टी प्रवेशले पुष्टि गरेको छ । यसैका प्रतिको आक्रोश क्रममा बाँके र तनहुँका घटना भएका छन् ।”
पछिल्लो समय नेपाली समाजमा प्रकट भइरहेका अनेक असन्तुष्टि र वितृष्णा मूलतः वर्तमान सरकारको डेढ वर्षे क्रियाकलापको उपज भएको कांग्रेसको ठहर छ । अवस्थाप्रतिको वितृष्णालाई व्यवस्थाकै विरुद्ध प्रचारित हुन नदिन गम्भिर जवाफदेहिता राख्नुपर्ने दायित्व बोकेको सरकार र सत्तारुढ पार्टीको व्यवहार परिमार्जन तर्फ नभएर प्रतिकारतर्फ लक्षित हुनु अत्यन्तै दुःखद भएको कांग्रेसले बताएको छ । कांग्रेसले रगत पसिना बगाएर बहुमत दिलाउने कार्यकर्ताहरुलाई नवमण्डलेकरणको दिशामा नधकेल्न सत्तारुढ नेकपाको नेतृत्वलाई आग्रहसमेत गरेको छ ।
नेपाली कांग्रेसले दोस्रो चरणको अभियानका क्रममा पहिलो चरणको भन्दा दोब्बर मानिसहरुले पार्टी प्रवेश गरेको दाबी गरेको छ । प्रवक्ता शर्माले दोस्रो चरणको अभियानका क्रममा ५३ हजार चार सय ७९ जनाले विभिन्न दल परित्याग गरेर कांग्रेसको सदस्यता लिएको जानकारी दिए । पहिलो चरणमा ३१ हजार ६ सय ४२ जनाले कांग्रेसको सदस्यता लिएको कांग्रेसले जानकारी दिएको थियो । प्रवक्ता शर्माले अभियानका क्रममा पार्टी प्रवेश गरेका नव सदस्यहरुका लागि आवश्यक प्रशिक्षणको आयोजना गरिने बताएका छन् ।
कांग्रेसले भदौ २४ गतेबाट असोज ७ गतेसम्म चालेको दोस्रो चरणको जागरण अभियान उत्साहपूर्वक सञ्चालन भएको पनि जनाएको छ ।