कारोबार संवाददाता
मंगलबार, आश्विन १४, २०७६
623

राष्ट्रिय जनता पार्टी नेपालले विद्यमान संघीय संरचनाको एजेन्डालाई फेरि उचाल्न शुरू गरेको छ । पहिचानको आधारमा संघीय संरचना हुनुपर्ने र आफूहरू त्यसकै लागि आन्दोलनरत रहेको राजपाका नेताहरूले जनाएका छन् ।
राजपाका संयोजक महन्थ ठाकुरले राज्यले पहिचानको आधारमा विभेद गरेको र विभेद अझ जारी रहेको बताए । सोमबार राजपा कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ठाकुरले यस्तो बताएका हुन् ।

अहिलेको संघीय संरचनाका प्रदेशहरू फेर्नुपर्ने माग उनले गरे । पहिचानका आधारमा विभेद भइरहेको भन्दै उनले भने, “त्यसको समाधान प्रदेश पहिचानकै आधारमा हुनुपर्छ ।”
मधेशी समुदायले यो संविधानलाई अझ अपनत्व ग्रहण गर्न सकिरहेका छैनन् । आफ्नो मान्न सकिरहेका छैनन् । आफूहरुले यो संविधान होस होेस् भन्ने चाहेको बताउँदै उनले भने, “त्यसका लागि हामी अहिले पनि संघर्षरत छौं ।”
उनले देशमा ठूला पार्टीले यो विषयलाई गम्भीरताका साथ नलिएको बताए । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीका मुस्लिम नेता तथा कार्यकर्ताहरुलाई स्वागत गर्दै संयोजक ठाकुरले यस्तो बताएका हुन् ।
संविधान दिवसलाई कालो दिवस मनाउनुको कारण सत्ताधारी पार्टी नेकपाले गम्भीर रूपमा ध्यान नदिएको उनले जनाए । संविधान संशोधनको माध्यमबाट संविधानलाई सर्वस्वीकार्य बनाउन संघर्ष गरिरहेको नेता ठाकुरको भनाइ थियो ।
कार्यक्रममा राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले नेकपा र कांग्रेसले गर्न नसकेको काम राजपाले गर्ने दाबी गरे । उनले राजपाले विभेदलाई समाप्त पार्ने बताए ।


सातामा धेरै पढिएको