कारोबार संवाददाता
शुक्रवार, आश्विन १०, २०७६
497

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २१ वटा नयाँ दल दर्ता भएका छन् । बिहीबार विज्ञप्ति जारी गर्दै आयोगले दल दर्ताका लागि आयोगमा निवेदन दिएका २१ दललाई चुनाव चिन्ह प्रदान गरेको जानकारी दिएको छ ।
मंसिर १४ गते हुने प्रदेशसभा, प्रतिनिधिसभा र स्थानीय तहको निर्वाचनमा ती दलले भाग लिन सक्नेछन् । दर्ता हुने दलहरुमा साझा पार्टी, नेपाल कम्युनिष्ट पार्टी, राप्रपा (लोकतान्त्रिक), नेपालवाद, राष्ट्रिय नागरिक पार्टी, राप्रपा (संयुक्त), जनमत पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, समाजवादी पार्टी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, नेपाली कांग्रेस (वीपी), ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी, आमूल परिवर्तन मसिहा पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल कम्युनिष्ट पार्टी (पुष्पलाल) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रहेका छन् ।
“नेपालको संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम भएका, २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तह सदस्यको पदको लागि निर्वाचनमा दर्ता नभएका, एकीकरण भएका, नाम परिवर्तन भएका र २०७४ सालको निर्वाचनपछि आयोगमा दर्ता भएका राजनीतिक दलहरूलाई २०७६ मंसिर १४ गते हुने तीनै तहको सदस्यको उपनिर्वाचनको प्रयोजनको लागि २१ राजनीतिक दलहरूले दल दर्ताको लागि पेश गरेका निवेदन बमोजिम आयोगको निर्णयानुसार दल दर्ता गरी निर्वाचन चिन्ह निर्धारण गरेको छ,” आयोगले विज्ञप्तिमा भनेको छ ।