कारोबार संवाददाता
सोमवार, भदौ ३०, २०७६
273

पोखरा- साझा पार्टीका केन्द्रीय संयोजक रविन्द्र मिश्रले कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचन उपनिर्वाचनमात्र नभई प्रमुख दुई दलहरुबीचको जनमत संग्रह भएको बताएका छन् । साझा पार्टी गण्डकी प्रदेशले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक मिश्रले भने, “आजसम्म यो देशलाई भ्रष्ट र असक्षम नेताले जुन किसिमको स्थितिमा राखे, यसले देशलाई निकास दिन सकेन । साझा पार्टीले सुरु गर्न लागेको देश रुपान्तरणको नयाँ राजनीतिले देशमा आर्थिक विकास र समृद्धि दिन सक्छ ।”
पोखरामा हुने उपनिर्वाचनको नतिजाले देशलाई रुपान्तरिथ बाटोमा लैजाने उनले बताए । आफूहरुले कास्कीबाट नयाँ व्यक्ति उठाउने तयारी गरेको उनले जानकारी दिए । आर्थिक विकास र समृद्धिको विषयमा र भ्रष्टचारको विषयमा आफूहरुजस्तो सशक्त आवाज कुनै पार्टीले नउठाएकोले एजेण्डाका हिसाबले आफ्नो पार्टी पहिलो भएको उनले दाबी गरे । २०४६ सालपछिका सबै उच्च पदस्थ राजनीतिकर्मी, प्रशासकहरु र अन्य नियुक्ति पाएका व्यक्तिहरुको सम्पत्ति छानबिन हुनुपर्छ भनेर आफूहरुले आवाज उठाउँदै आएको उनले जनाए ।