कारोबार संवाददाता
बुधवार, भदौ २५, २०७६
416

विराटनगर-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार वर्तमान सरकार चल्न नसकेको आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै देउवाले वर्तमान सरकार स्वच्छचारी बन्दै गएको बताए ।
“यो सरकारले लोकतान्त्रिक विधि र प्रक्रियाभन्दा बाहिर गएर काम गरिरहेको छ,” पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले भने, “सरकारको कार्यशैलीकै कारण जनता इतिहासमै सबैभन्दा बढी निराश बनेका छन् ।” दुई तिहाईको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको उनको कथन थियो । सरकारकै कारण देशमा भ्रष्टाचार, बेरोजगारी, हत्या, हिंसा, महिला हिंसा, महँगी बढेको देउवाले जिकिर गरे ।
“वर्तमान सरकारमा कम्युनिष्ट चरित्र छैन । प्रधानमन्त्री र मन्त्रीहरू आफूलाई राजा महाराजाजस्तै ठान्छन्,” सभापति देउवाको कथन थियो, “सत्तामा पुग्ने बित्तिकै आफ्नो धरातल बिर्सिनु कम्युनष्टिको चरित्र हो ।” उनले दलहरूसँग छलफल नगरी सरकारले मिडिया काउन्सिल, मानवअधिकार लगायतका विधेयक ल्याएको आरोप लगाए । कांग्रेस जहिले पनि प्रेस स्वतन्त्रताको पक्षमा रहेकाले प्रेसलाई निर्वाध रूपले काम गर्न दिनुपर्ने उनको भनाइ थियो । सभापति देउवाले सञ्चारजगतको अधिकार कटौती गर्ने कार्य कांग्रेसलाई मान्य नहुने बताउँदै सञ्चार जगतभन्दा बढी आफू चिन्तित रहेको दाबी गरे । सभापति तोकिएको मितिमा कांग्रेसको राष्ट्रिय महाधिवेशन हुने बताए । उनले संघीय संरचनाअनुसार समिति गठन गरेर निर्धारित समयमा महाधिवेशन सम्पन्न हुने प्रस्ट पारे । पार्टीभित्र हुने सानातिना विवादलाई लिएर कांग्रेसमा एकता छैन भन्न नमिल्ने बताउँदै उनले कांग्रेसलाई थप संगठित बनाउन आफू लागि परेको दाबी गरे । कांग्रेसप्रति जनताको उच्च भरोसा रहेको बताउँदै उनले जनताका समस्या समाधान निकट रहन नेता कार्यकर्तालाई निर्देशन दिए ।