प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबारदेखि दोस्रो चरणको राष्ट्रिय जारण अभियान सुरु गरेको छ । जननायक वीपी कोइरालाको १०६ औं जन्मजयन्तिको अवसर पारेर कांग्रेसले देशभर अभियान सुरु गरेको हो ।
कांग्रेसले देभरीका प्रदेशसभा निर्वाचन क्षेत्रहरुमा वृक्षरोपण गरेर दोस्रो चरणको अभियान एकसाथ सुरु गरेको छ । अभियानको नाम ‘हिमाल, पहाड, तराई–मधेश (हिपतम) जागरण’ रहेको छ । वीपी कोइरालाको १०६ औं जन्मजयन्तिको प्रतीकस्वरूप १०६ वटा बिरूवा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा रोपेर दोस्रो चरणको जागरण अभियानको उद्घाटन गरिएको कांग्रेसले जनाएको छ ।
जसअनुसार सुनसरीमा सभापति शेरबहादुर देउवा, कास्कीमा वरिष्ठ नेता रामचन्द्र पौडेल, धनुषामा उपसभापति विमलेन्द्र निधि, सुनसरीमा उपसभापति विजयकुमार गच्छदार, मकवानपुरमा महामन्त्री डा. शशांक कोइराला, भक्तपुरमा महामन्त्री पूर्णबहादुर खड्का तथा काठमाडौंमा कोषाध्यक्ष सीतादेवी यादव र सहमहामन्त्री डा. प्रकाशशरण महत खटिएका थिए ।
अभियानको अन्तिम दिन असोज ७ गते ७७ वटै जिल्लामा विभिन्न पाँचवटा मुद्दामा केन्द्रित रहेर विरोध प्रदर्शन र सभा गर्ने कांग्रेसको योजना छ । समापनमा बढ्दो महँगी, वाइडबडी, न्यारो बडीलगायत भ्रष्टाचार प्रकरण, बढ्दो महिला हिंसा, बलात्कार र हत्या, अलोकतान्त्रिक विधेयक र कम्युनिष्ट नेतृत्वको सरकारका सम्पूर्ण कुशासनका विरुद्ध प्रदर्शन हुनेछ ।
पहिलो चरणको अभियानजस्तै दोस्रो चरणको अभियानमा पनि कम बोल्ने र बढी सुन्ने प्रकृतिका कार्यक्रमहरु तय गरिएको कांग्रेसले बताएको छ । अभियानका क्रममा कांग्रेसले हरेक प्रदेशसभा निर्वाचन क्षेत्रमा विशेष सामाजिक संवाद, सामाजिक विसंगतिविरूद्ध जागरण, युवा केन्द्रित विशेष संवाद, वडास्तरीय अन्तरक्रिया, अग्रज, सहिद परिवार र द्वन्द्वपीडितको आँगनमा जाने, पार्टी प्रवेश अभियान, स्थानीय तहको दुई वर्षे समिक्षालगायत कार्यक्रम तय गरेको छ ।
दोस्रो चरणको अभियानअन्तर्गत कांग्रेसले ७७ वटै जिल्लाका एक लाख युवासँग संवाद गर्ने लक्ष्य राखेको छ । प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा युवा केन्द्रित विशेष संवाद कार्यक्रम आयोजना गरेर एक लाख युवासँग विशेष संवाद गर्ने कांग्रेसको तयारी छ ।