कारोबार संवाददाता
आइतवार, भदौ २२, २०७६
291

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकार हावादारी प्रचारमा केन्द्रित भएको आरोप लगाएका छन् । डा. महतले वर्तमान सरकारले आकाशे र उडन्ते कुरा गरेर समय व्यतित गरिरहेको आरोप लगाएका हुन् । ‘सरकारले पानीजहाज, रेल ल्याउने लगायतका हावादारी कुरा गरिरहेको छ’ उनले भने, ‘कहिले १५ हजार अट्ने सम्मेलन केन्द्र बनाउँछु भन्छ, कहिले के भन्छ ? कहिले प्रधानमन्त्री निवास करोडौं खर्चिएर नयाँ बनाउने कुरा त, कहिले राष्ट्रपति निवासलाई फराकिलो बनाउने कुरा भएका छन् ।’
महतले सरकारले उपभोग्य कुरामा बढी खर्च गरेको गुनासो गरे । सरकारले वास्तविक आवश्यकत्ता के हो भनेर खुट्याउन नसकेको र कार्यक्रमको प्राथमिकीकरण नै गर्न नसकेको उनको आरोप छ ।

उनले अहिले विश्वका जुनसुकै मुलकको पनि मूल एजेण्डा आर्थिक विकास र समृद्धि भएको बताउँदै नेपालले पनि आर्थिक एजेण्डालाई आत्मसात गर्नु खुशीको कुरा भएको टिप्पणी गरे । तर, समृद्धि हासिल गर्न त्यति सजिलो नभएको महतको भनाई छ । अहिले देशमा भ्रष्टाचार, लुटतन्त्र र विभिन्न स्क्याण्डलका बारेमा कुरा उठेको पनि उनले बताए ।
महतले देशमा भएका तीन तहका सरकारबीच समन्वय र सहकार्य नभएको पनि गुनासो गरे । संघीयता कार्यान्वयनको लागि आवश्यक कतिपय कानूनहरु अझैपनि संसदबाट पारित नभएको उनको गुनासो छ । त्यस्तै, संघीयता कार्यान्वयनको लागि आवश्यक कतिपय संरचनाहरु अझै बन्न नसकेको महतको आरोप छ ।
विगतका सरकारले अघि बढाएका (कतिपय त रातो किताब) मा समेत परेका योजनाहरु रोकिएको उनले बताए । महतले सांसदहरुलाई रकम दिने र जथाभावी नयाँ योजना सुरु गरिएकोप्रति पनि आक्रोश पोखे ।
उनले आर्थिक वृद्धिदर ७ प्रतिशत हासिल गरेको भन्ने वर्तमान सरकारको दाबीमा पनि सत्यता नरहेको जिकिर गरे । उनले भने, ‘सालाखाल ६ प्रतिशत वृद्धि भएको छ । ६ प्रतिशत वृद्धि हुनुपनि राम्रै कुरा हो, तर कसरी ७ प्रतिशत वृद्धिद्धर हासिल भयो भन्ने कुरा मैले बुझेको छैन् ।’ उनका अनुसार वर्तमान सरकारले अहिलेपनि तल्लो तहसम्मै तथ्यांक बढाईचढाई गर्न दबाब दिएको आशंका छ ।
आर्थिक वृद्धिदर राम्रो हुनुमा उनले भूकम्पपछिको पुनर्निर्माण रकमको व्यवस्था र विद्युत प्राधिकरणले विद्युत चुहावट रोक्नुलाई मुख्य आधार मानेका छन् । तर, सरकारले राम्रो र नयाँ काम गरेको कारण आर्थिक वृद्धिद्धरमा सुधार नभएको उनको जिकिर छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा मात्रै २४ अर्बको योजना परेको भन्दै उनले राज्यको ढुकुटीको दुरुपयोग गर्न नहुने धारणा राखे । सरकारले शक्तिको ज्यादै दुरुपयोग गरिरहे कांग्रेसले सडक र सदन दुवै ठाउँबाट संघर्षका कार्यक्रम सुरु गर्ने पनि उनले चेतावनी दिए ।