कारोबार संवाददाता
आइतवार, भदौ २२, २०७६
299

झापा- नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले दुईतिहाई बहुमतसहितको कम्युनिष्ट नेतृत्वको सरकार ऐन, नियम, विधि र कानून मिच्न उद्यत रहेको आरोप लगाएका छन् । नेपाल चिया बगान श्रमीक संघको प्रथम जिल्ला परिषद भेलामा बोल्दै सिटौलाले मौलिक हकमा ब्यवस्था भएको जनअधिकार कार्यान्वयन गर्न सरकार असफल भएको बताए ।
बहुमतको दम्भमा सरकार अन्धो भएको टिप्पणी गर्दै नेता सिटौलाले सरकारको एकदलीय तानाशाही सोच बदल्न मजदुरले पुनः एकीकृत भएर आन्दोलन गर्नुको विकल्प नभएको धारणा राखे । “विगतमा पनि मजदुरहरुको एकता र आन्दोलनकै कारण लोकतान्त्रिक शासन व्यवस्था आएको थियो, लोकतन्त्र प्राप्तिपछि बनेको संविधानले मजदुरहरुका अधिकार सुनिश्चित गरेको छ” नेता सिटौलाले भने, “तर सरकार कानूनले सुनिश्चित गरेका मजदुरका हक अधिकार कार्यान्वयन गरिरहेको छैन, अब अधिकार प्राप्तिका लागि ट्रेड युनियनले विशेष पहल थाल्नैपर्छ ।”

संविधानले मजदुरको शिक्षा, स्वास्थ्य, आवास, रोजगार, भोजन लगायतका आधारभूत आवश्यकता पूरा गर्ने सुनिश्चितता गरेकाले संविधानमा सुनिश्चित अधिकार प्राप्तिका लागि अब ट्रेड युनियनले विशेष पहल थाल्नु पर्ने सिटौलाको भनाई छ । संविधान जनताका लागि नभएर सत्तामा बस्नेका लागि मात्रै भइरहेको टिप्पणी गरेका सिटौलाले ४४ दिनसम्म चिया मजदुरले आन्दोलन गर्दा पनि कुनै मन्त्रीले मजदुरका हकहितमा नबोलेको आरोप लगाए ।
उनले चिया बगानका प्रत्येक एकाईमा श्रमीक संस्था गठन गरेर स्थानीय, प्रदेश र केन्द्रीय सरकारका गतिविधिबारे छलफल र चेतना अभिबृद्धि गर्ने कार्यक्रम अघि बढाउन समेत मजदुर नेताहरुलाई आग्रह गरे । मजदुरको सूचीकरण र श्रम ऐनमा तोकिएको ज्याला कार्यान्वयन नभए आन्दोलनमा जानुको विकल्प नभएको धारणा उनले राखे ।
नेपाल चिया बगान श्रमीक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव जीवन खड्काले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै श्रम ऐन अनुसार न्युनतम ज्याला कार्यान्वयन नभएका चिया बगानहरुमा ज्याला कार्यान्वयन गर्न, महंगी, भ्रष्टाचार, कालोबजारी रोकेर रोजगारीको सिर्जना गर्न तथा श्रमीकलाई पान नं लिनैपर्ने बाध्यकारी नियम कार्यान्वयन नगर्न सरकारसँग माग गरे ।