कारोबार संवाददाता
शुक्रवार, भदौ २०, २०७६
264

नेपाली कांग्रेसले यही भदौ २४ गतेबाट दोस्रो चरणको राष्ट्रिय जारण अभियान सुरु गर्ने भएको छ । पार्टीका संस्थापक नेता वीपी कोइरालाको १०६ औं जन्मजयन्तिको अवसर पारेर कांग्रेसले दोस्रो चरणको जारण अभियान चलाउन लागेको हो ।
‘हिमाल, पहाड, तराई–मधेश (हिपतम) जागरण’ नाम दिइएको दोस्रो चरणको अभियान असोज ७ गते समापन हुने कांग्रेसले जानकारी दिएको छ ।

३३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित गरेर सञ्चालन हुने अभियानका लागि सोही संख्यामा केन्द्रीय प्रतिनिधिहरु खटाइने बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । प्रवक्ता शर्माले जागरण अभियानको दोस्रो चरणका कार्यक्रमहरू प्रथम चरणका कार्यक्रमझैं छरितो स्वरूपमा हुने बताए ।
“एक मिनेटभित्र आसन ग्रहण सकिन्छ । ठूला केजीमा तौलिने माला एवं व्याजरहित हुन्छ । वक्ताको संख्या सीमित हुन्छ । कार्यक्रम बढी अन्तरक्रियात्मक हुन्छ । अभियानको दोस्रो चरणमा पार्टीका नेता एवं प्रतिनिधिहरूले बोल्ने कम र सुन्ने बढी प्रकृतिका कार्यक्रम निर्धारित छन्,” उनले भने ।
प्रवक्ता शर्माले दोस्रो चरणको अभियानमा एउटा मात्रै सभाको कार्यक्रम तय गरिएको जानकारी दिए । उनका अनुसार अभियानको अन्तिम दिन असोज ७ गते कांग्रेसले ७७ वटै जिल्लामा विभिन्न पाँच वटा मुद्दामा केन्द्रित रहेर विरोध प्रदर्शन र सभा गर्ने भएको छ ।
दोस्रो चरणको जागरण अभियानका क्रममा कांग्रेसले ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा झण्डै ३५ हजार बिरुवा रोप्ने भएको छ । जननायक वीपी कोइरालाको १०६ औं जन्मजयन्तिको प्रतिक स्वरूप एक सय छ बिरूवा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा रोपेर दोस्रो चरणको जागरण अभियानको उद्घाटन गर्ने कांग्रेसको तयारी छ ।
प्रवक्ता शर्माले केन्द्रीय कार्यसमितिले खटाएका प्रतिनिधिहरुले दोस्रो चरणको अभियानमा कम बोल्ने र बढी सुन्ने प्रकृतिका कार्यक्रमहरु तय गरिएको बताएका छन् । अभियानका क्रममा कांग्रेसले हरेक प्रदेशसभा निर्वाचन क्षेत्रमा विशेष सामाजिक संवाद, सामाजिक विसंगति विरूद्ध जागरण, युवा केन्द्रित विशेष संवाद, वडा स्तरीय अन्तरक्रिया, अग्रज, सहिद परिवार र द्वन्दपीडितको आँगनमा जाने, पार्टी प्रवेश अभियान, स्थानीय तहको दुई वर्षे समीक्षालगायतका कार्यक्रमहरु तय गरेको छ ।
विशेष सामाजिक संवादका क्रममा समाजका विभिन्न समुदाय, वर्ग, पेशा र क्षेत्रका महिला–पुरुषले वर्तमान अवस्थामा राख्ने धारणा र भावना बुझ्ने, उनीहरुका प्रश्न, पीडा र अपेक्षाका बारेमा जानकारी लिने प्रवक्ता शर्माको भनाइ छ । उनीहरुसँग वर्तमान सरकारसँग राखिएका अपेक्षा र वर्तमान परिणामको अनुभूति र समीक्षाका बारेमा धारणा माग गर्ने र आजको अवस्थाका सम्बन्धमा कांग्रेससँग उनीहरुको प्रष्ट अपेक्षाका बारेमा जानकारीसमेत लिने उनले बताए ।
दोस्रो चरणको अभियानअन्तर्गत कांग्रेसले ७७ वटै जिल्लाका एक लाख युवासँग संवाद गर्ने लक्ष्य राखेको छ । जागरण अभियानका क्रममा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा युवा केन्द्रित विशेष संवाद कार्यक्रम आयोजना गरेर एक लाख युवासँग युवा केन्द्रित विशेष संवाद गर्ने कांग्रेसको तयारी छ ।