कारोबार संवाददाता
सोमवार, भदौ २, २०७६
290

धनगढी-कृषि तथा पशुपंक्षी व्यवसाय प्रबद्र्धन विधेयक पारित गर्दै सुदूरपश्चिम प्रदेशसभाको चौथो अधिवेशन आइतबार अन्त्य भएको छ । प्रदेशसभाको आइतबारको बैठकमा सुदूरपश्चिम प्रदेशको कृषि तथा पशुपञ्क्षी व्यवसाय प्रबद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ लाई पारित गरी बजेट अधिवेशन अन्त्य गरिएको हो ।
प्रदेशसभाबाट सो विधेयक पारित गरिसकेपछि सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुख मोहनराज मल्लले अधिवेशन अन्त्य गर्न पठाएको पत्र वाचन गरी अधिवेशन अन्त्य भएको घोषणा गरे । प्रदेशसभाको चौथो अधिवेशनले प्रदेशका लागि महत्वपूर्ण आठ वटा विधेयक पारित गरेको समेत सभामुख थापाले जानकारी गराए । प्रदेशसभाले सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रादेशिक औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेशको लोक सेवा आयोग गठन, काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६, सुदूरपश्चिम प्रदेशको आयुर्वेद प्रतिष्ठान स्थापना र सञ्चालन सम्बन्धी विधेयक २०७६, प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वय गर्न बनेको विधेयक २०७६, केही प्रदेश ऐन संशोधन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७६,सुदूरपश्चिम प्रदेशको कृषि तथा पशुपंक्षी व्यवसाय प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र आर्थिक वर्ष २०७६-०७७ को सेवा र कार्यहरुको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ पारित गरेको सभामुख थापाले जनाए ।

प्रदेशसभा सचिवालयका अनुसार जेठ १ गतेबाट सुरु भएको चौथो अधिवेशनमा ३६ वटा बैठक बसेको थियो । जम्मा ३४ दिन बोलाइएको प्रदेशसभा बैठक ३८ घण्टा ३७ मिनेट चलेको सभामुख थापाले जनाए । चौथो अधिवेशनमा विशेष समय सात पटक र शून्य समय दुई पटक प्रदान गरिएको थियो । आर्थिक वर्ष २०७६-०७७ को बजेटको विषयमा प्रदेश सरकारप्रति प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) असन्तुष्ट हुँदा प्रदेशसभाको बैठक लगातार २१ दिनसम्म आठ पटक स्थगित भएको थियो ।
प्रदेशसभाको चौथो अधिवेशन समापनको अवसरमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक तारा लामा तामाङले देखिने गरी राजधानी कार्यान्वयनको काम गर्न प्रदेश सरकारलाई आग्रह दोहो¥याए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता डा. रणबहादुर रावलले प्रदेशको उन्नति, प्रगतिका लागि प्रदेश गौरवका योजनामा विशेष ध्यान दिन सरकारलाई अनुरोध गरे ।
प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा) का मुख्य सचेतक मालामती रानाले विधेयक पारित भएका विधेयक प्रभावकारी ढंगले कार्यान्वयन गर्न आवश्यक रहेको बताइन् ।