कारोबार संवाददाता
सोमवार, भदौ २, २०७६
239

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले हिन्दूहरुको धार्मिक ग्रन्थ गीता र वेदमा जातीय विभेदको नभई समानताका बारेमा चर्चा गरिएको बताएका छन् । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनले ५६ औं मुक्ति दिवसको अवसरमा आइतबार आयोजना गरेको कार्यक्रममा उनले हिन्दूहरुको धार्मिक ग्रन्थमा जातीय छुवाछूत नभएको बताएका हुन् ।
थापाले जातीय छुवाछूतलाई हिन्दू धर्मसँग जोडेर हेरिए पनि कुनै पनि धर्मग्रन्थमा जातीय विभेद नभएको प्रष्ट पार्दै गीता र वेदले जातीय विभेद होइन, समानताको बारेमा चर्चा गरेको बताए । तत्कालिन राजा महेन्द्रले गरेको जातीय छुवाछूत उन्मूलन आधुनिक इतिहासकै क्रान्तिकारी कदम भएको पनि उनले जिकिर गरे । अध्यक्ष थापाले नेपालका ग्रामीण भेगमा अझै छुवाछूत र जातीय विभेद जस्ता कुप्रथा कायम रहेको र त्यसैलाई आधार बनाएर विदेशी धर्म र विदेशी संस्कृति लाद्न चाहनेहरुले धर्म परिवर्तन जस्तो जघन्य कर्म गरिरहेको भन्दे चिन्ता पनि व्यक्त गरे ।
त्यस्तै थापाले मुक्ति दिवसलाई केवल एउटा वा राजासित जोडेर नहेर्न पनि सरकारसँग आग्रह गरे । जातीय विभेदको अन्त्य, सबैखाले शोषण र विभेदको अन्त्य हुनुपर्छ भन्ने मान्यतामा लामो संघर्ष गरेका र तिनकै नेतृत्वमा रहेको सरकार र व्यवस्थाले मुक्ति दिवसलाई उपेक्षा गर्नु दुखद भएको उनको भनाइ थियो । २०१९ भदौ एक गते राजा महेन्द्रले नयाँ मुलुक ऐन जारी गरी जातीय छुवाछूत उन्मूलन गराएको भन्दै राप्रपाले सो दिनलाई मुक्ति दिवसका रुपमा मनाउँदै आएको छ ।