कारोबार संवाददाता
शुक्रवार, श्रावण ३१, २०७६
406

जुम्ला-बुधबार कार्यक्रम भइरहेको अवस्थामा बम विस्फोट भएको हो । मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव खेम सिंहका अनुसार कार्यक्रम स्थल भन्दा ५० करिब मिटर पर २ पटक बम विस्फोट गराइएको थियो । “खार्पुनाथमा कार्यक्रम चलिरहेको बेला माथि डाँडातिर २ पटक विस्फोट भएको आवाज आएको हो,” उनले भने, “सकेट बम विस्फोट गराइएको हुन सक्छ । बम विष्फोट मुख्यमन्त्री शाहीलाई नै लक्षित गरी गरिएको हो ।”
यता प्रहरीले भने बम विष्फोट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले गरेको हुन सक्ने अनुमान गरेको छ । यो विस्फोटमा कुनै मानवीय क्षति नभएको कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार घटनाको अनुसन्धान भइरहेको छ । यसअघि पनि मुख्यमन्त्री महेन्द्र बहादुर शाही आफ्नै गृह जिल्ला कालिकोट आउँदा उनलाई नै लक्षित गरी बम विष्फोट भएको थियो ।
मुख्यमन्त्रीलाई सुरक्षा चुनौती बढेपछि प्रदेश प्रहरीले उनको सुरक्षा व्यवस्थालाई थप मजबुद बनाउने स्वकीय सचिव खेम सिंहले जानकारी दिए । अबका दिनमा बाहिर जिल्लामा कार्यक्रमका जाँदा उच्च सुरक्षा अपनाइने उनको भनाइ छ ।