कारोबार संवाददाता
सोमवार, श्रावण २७, २०७६
429

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको अन्तरिम संरचना गठन गर्न बनाएको निर्देशिका पारित गरेको छ । पार्टी मुख्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्य समिति बैठकले पार्टीको विभिन्न तहको कार्य समिति समायोजन गर्ने गरी पार्टीको निर्देशिका पारित गरेको हो ।
साविकको कार्यसमितिलाई नै समायोजन गर्ने गरी वडा तहसम्म पनि संघीय ढाँचा अनुसारको कार्यसमिति गठन हुने गरी पार्टीको निर्देशिका पारित गरिएको कांग्रेसले जनाएको छ । त्यसका लागि सबै जिल्लामा पार्टीको केन्द्रीय निर्वाचन प्रणालीले प्रतिनिधि खटाउनेछ ।

भदौ २० गतेभित्र प्रतिनिधिसभा तथा प्रदेश सभाको क्षेत्रीय कार्य समिति समायोजन गरी सक्ने र कात्तिक महिनाभित्रै सबै कार्य समिति समायोजन गरी सक्ने निर्णय पनि भएको छ ।
नेपाली कांग्रेसले निर्वाचनमार्फत सबै कार्य समिति निर्माण गर्न समस्या भएको निष्कर्ष निकाल्दै सो समस्या समाधानका लागि साविककै समितिहरुलाई मिलाएर समायोजना गर्ने गरी निर्देशिका बनाएको हो ।
केन्द्रीय कार्यसमितिको आइतबारको बैठकमा केन्द्रीय सदस्यहरु महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, एनपी साउद, उमाकान्त चौधरी, दीपक गिरी, महेन्द्र यादव, बद्री पाण्डे, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, हृदयराम थानी र शिवप्रसाद हुमागाईले आफ्नो धारणा व्यक्त गरेका थिए । अर्को बैठक साउन २९ गते दिउँसो १ बजे पुनः बस्ने बताइएको छ ।