कारोबार संवाददाता
आइतवार, श्रावण २६, २०७६
360

कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले सरकारले संघीय निजामती सेवा ऐन बनाउँदा आफूहरुले दिएका सल्लाह र सुझावलाई आत्मसात नगरे आन्दोलनको ज्वारभाटा सुरु गर्ने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा अध्यक्ष ढकालले मुलुक संघीय व्यवस्थाअनुसार अघि बढिरहेको सन्दर्भमा संघीयतालाई पूर्ण रुपमा कार्यान्वयन गर्नको लागि पनि संघको ऐन राम्रो बनाउनुपर्ने धारणा राखे ।
उनले भने, “हामीले हाम्रो तर्फबाट सल्लाह र सुझावहरु दिएका छौं । सरकारले हाम्रा सुझावहरुलाई कार्यान्वयन गर्छ भन्नेमा आशावादी छौं । यदि हाम्रा सुझाव बेवास्ता गरियो भने फेरि मुलुकमा आन्दोलनको ज्वारभाटा सुरु हुन्छ । त्यसपछि के–के हुन्छ भन्ने कुरा थाहा छैन । अहिले नै सबैको ध्यान पुगोस् ।”

सरकारले ऐन बनाउँदा सरोकारवाला पक्षसँग गहन र गम्भिर छलफल गर्नुपर्ने उनको धारणा छ । तर, सरकारले आफूहरुसँग सरसल्लाह नगरेकोमा ढकालले असन्तुष्टि पोखे । उनले भने, “हामीसँग सरकारले छलफल गर्नुपर्छ । हामी कुममा कुम र काँधमा काँध मिलाएर छलफल गर्न तयार छौं ।” सामूहिक राजीनामाको कुरा थप उत्तेजित र आतंकित बनाउने प्रयत्न भएको उनको भनाइ छ ।
उनले सबैले संविधानको मूल मर्म र भावनाअनुसार चल्नुपर्ने र बुझ्नुपर्ने धारणा राखे । उनले भने, “निजामती प्रशासनलाई सधैं दपेट्ने काम भएको छ । निजामती कर्मचारी भनेको मौरी हो । सकारात्मक ढंगले लिइयो भने राम्रो मह दिन्छ । होइन भने मौरीको खिल हेरौं ।”
उनले आफूहरुले कोही पनि भ्रष्ट कर्मचारीलाई जोगाउनुपर्छ भनेर नहिँडेको बताउँदै सरकारलाई राम्रो काममा सहयोग पु-याउँदै आएको सुनाए । उनले आफूहरुको संयमतता र धैर्यतालाई कमजोरीको रुपमा नआँक्न पनि चेतावनी दिए ।
नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल प्रसाद पोखरेलले संघीय निजामती सेवा ऐन बनाउने प्रक्रियामा आफ्नो संगठनको गम्भिर आपत्ति र असहमति रहेको स्पष्ट पारे । उनले भने, “सरकारले हामी स्टेकहोल्डरसँग यो ऐनको विषयमा छलफल नै गरेको छैन । यो ऐन हामी कर्मचारीसँग प्रत्यक्ष सरोकार राख्ने ऐन हो, त्यसैले हाम्रा राय, सल्लाह र सुझावलाई सकारात्मक रुपमा ग्रहण गर्नुपर्छ । यदि सुझाव लिँदैन भने यो त सरकारलाई नै घाटा हो ।”
नेपाल निजामती कर्मचारी संगठनका कार्यवाहक अध्यक्ष लेखनाथ कोइरालाले आफुहरुसँग प्रत्यक्ष सरोकार राख्ने ऐन बनाउँदा सरकारले पर्याप्त छलफल नगरेकोमा आक्रोश पोखे । उनले भने, “अहिले संघीय निजामती सेवा ऐन राज्य व्यवस्था तथा सुशासन समितिमा छ, दफाबार छलफल चलिरहेको छ ।” उनले ऐन बनाउँदा आफूहरुजस्ता सरोकारवाला पक्षसँग छफल गर्नुपर्ने सुझाए ।
नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि बहादुर रावलले आफूहरुको भाग्य र भविष्यसँग जोडिएको विषय भएकोले संघीय निजामती सेवा ऐनबारे सरोकारवालाहरुसँग छलफल गर्नुपर्ने बताए । उनले भने, “हामीसँग सल्लाह नगरी ऐन ल्याईयो भने हामीलाई यो मान्य हुनेछैन ।”


सातामा धेरै पढिएको