कारोबार संवाददाता
आइतवार, श्रावण २६, २०७६
308

पूर्वमन्त्री एवम् नेकपाका सांसद महेश बस्नेतले निर्माण व्यवसायीको गल्तीका कारण सिंगो सरकारले नै गाली खानुपरेको बताएका छन् । उनले जिम्मेवारी बोध गरी काम गर्न निर्माण व्यवसायीलाई सुझावसमेत दिए ।
तराई विकास तथा सञ्चार केन्द्र नेपालले गरेको ‘पूर्वाधार निर्माणका चुनौती र अब लिनुपर्ने बाटो’ विषयक अन्तक्र्रियामा सांसद बस्नेतले निर्माण व्यवसायी पनि सरकारका प्रतिनिधि भएकाले उनीहरूले जिम्मेवारी लिएर काम गर्नुपर्ने बताए । भौतिक पूर्वाधार निर्माण जनताको माग र सरकारको प्राथमिकता भएको भन्दै उनले निर्माणका क्षेत्रमा देखिएका समस्यालाई न्यूनीकरण गर्दै अघि बढ्नुपर्ने बताए । निर्माण क्षेत्रमा काम गर्दा सार्वजनिक खरिद ऐनमा, दररेटमा र तोकिएकै समयमा सम्पन्न नहुनेलगायतका समस्या रहेकाले यस्ता समस्यालाई तत्काल समाधान गर्नुपर्नेमा उनको जोड थियो ।

सांसद बस्नेतले भौतिक पूर्वाधार मन्त्रालयमा वैधानिक अनियमितता भएको भन्दै निर्माण क्षेत्रमा अझै पनि पीपी सिस्टम रहेकाले यसले निर्माण क्षेत्रकै नकारात्मक विम्व बनाएको भन्दै तत्काल रोक्नुपर्ने बताए । “पीपी सिस्टम अन्त्य गर्नुपर्छ र मापदण्ड बनाएर योगदानको आधारमा कर्मचारीलाई भत्ता दिनुपर्छ,” उनले भने ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. केपी ओलीले मुलुकमा ठूलाठूला राजनीतिक परिवर्तन भए पनि सोचमा परिवर्तन हुन नसक्दा पूर्वाधार निर्माणका क्रियाकलापहरू प्रभावकारी हुन नसकेको बताए । “विभिन्न राजनीतिक परिवर्तन भए तर हाम्रो सोच विचारमा परिवर्तन हुन नसक्नु नै मूल समस्या हो,” उनले भने, “हामी सबैमा मुलुक बनाउनुपर्छ भन्ने भावनाको विकास भएमात्र मुलुकको विकास हुन्छ ।” उनले मुलुकमा हाल २१ वटा राष्ट्रिय गौरवका आयोजना निर्माणाधीन अवस्थामा रहेकाले यस्ता आयोजना चाँडै सम्पन्न भए मात्र मुलुकले भौतिक पूर्वाधार निर्माणको लक्ष्य प्राप्त गर्न सक्ने बताए ।
राष्ट्रिय गौरवका आयोजना निर्माणका क्रममा विविध समस्या रहे पनि लक्ष्य प्राप्तिका लागि आयोजनाहरू अगाडि बढाउनुपर्नेमा उनको जोड थियो ।
पूर्वसचिव सुरेश प्रधानले मुलुक संघीयतामा गई तीन तहको सरकार बनेका कारण कसले के काम गर्ने भन्ने अन्योलता रहेका कारण भौतिक पूर्वाधार निर्माणमा असर परेको बताए । उनले आयोजना सम्पन्न गर्न समय निर्धारण नहुनु र समयमै बजेट खर्च नगर्नुलगायतका समस्या देखिएकाले यस्ता समस्या समाधान गर्न आवश्यकता अनुसार गृहकार्य गर्न सुझाव दिए ।