कारोबार संवाददाता
शुक्रवार, श्रावण २४, २०७६
274

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारसँग बाढीपहिरो प्रभावित जिल्लामा थप बजेट पठाउन माग गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रमुख सचेतक खाँणले सरकारसँग बाढीपहिरो प्रभावित जिल्लामा थप बजेट पठाउन माग गरेका हुन् ।
उनले भने, “बाढीपहिरो, जल डुबान र नदी कटान प्रभावित जिल्लामा थप बजेट पठाइयोस् ।” खाँणले नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको लापरवाहीकै कारण विद्युत लाइन र ट्रान्सफर्मर मर्मतका क्रममा प्राविधिकहरु दुर्घटनामा पर्ने गरेको स्मरण गराए । उनले विद्युत् लाइन र ट्रान्सफरमर मर्मतका क्रममा घाइते हुने प्राविधिकहरुको जीवनयापनका लागि गम्भीर बन्न पनि आग्रह गरे ।

उनले भने, “विद्युत् प्राधिकरणका कर्मचारीको चरम लापरवाहीले विद्युत लाइन र ट्रान्सफरमर मर्मत गर्ने क्रममा प्राधिकरणकै प्राविधिकहरु दुर्घटनामा पर्ने, ज्यान जाने, घाइते हुने अवस्था आइरहेको छ । यस्ता घटना नदोहोरियोस्, यस्तो चरम लापरवाही नगरियोस् र यस्ता खालका घाइतेहरुको जीवनयापनका लागि विद्युत् प्राधिकरण र सम्बन्धित मन्त्रालय गम्भीर बनोस् ।”
उनले केही दिनअघि रुपन्देहमा विद्युत् लाइन मर्मतका क्रममा प्राधिकरणकै प्राविधिक गुरुप्रसाद चौधरी दुर्घटनामा पर्दा एउटा हात र एउटा खुट्टा काट्नु पर्ने अवस्था आएको पनि संसदलाई जानकारी गराए ।