कारोबार संवाददाता
शुक्रवार, श्रावण २४, २०७६
364

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद जनार्दन शर्माले सत्य निरुपण तथा मेलमिलाप आयोग तत्काल गठन गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै सांसद शर्माले सत्यतथ्य पत्ता लगाई न्याय निरुपण नगरी शान्ति प्रक्रियाको काम पूरा नहुने भन्दै संवेदनशील विषयलाई हेलचेक्र्याइँ नगर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले जिम्मेवारीपूर्वक आयोग तत्काल गठन गरी काम अघि बढाउन आग्रह गरे ।
उनले संविधानमाथि नै प्रश्न उठाउने दुष्प्रयास भइरहेको भन्दै त्यो आफूहरुलाई स्वीकार्य नहुने चेतावनी दिए । संघीय संरचनामा काम गर्ने क्रमका कानुन लगायतको अभावले केही जटिलता देखिएको भएपनि सोही विषयलाई लिएर संघीय प्रणालीमाथिको प्रश्न उठ्नलाई स्वभाविक रुपमा लिन नसकिने बताए । संघीयतामाथि उठ्ने गरेका हरेक प्रश्नले त्याग र बलिदानको उपेक्षा गरेको टिप्पणी उनले गरे ।
“संघीय व्यवस्था भनेको गुडिया होइन । खेलौना होइन । यो एउटा बच्चाले मन परेन भनेर फेर्न सकिँदैन । त्याग र बलिदानबाट प्राप्त भएको कुरा हो, त्यसकारणले यसलाई गुडियाको रुपमा नलिइयोस् । म सचेत र सर्तक गराउन चाहन्छु,” उनले भने ।