कारोबार संवाददाता
शुक्रवार, श्रावण २४, २०७६
357

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले तत्काल सरकारी जग्गाबाट बाहिरिएर नीतिनियम र नैतिकतालाई थप लज्जित बन्नबाट जोगाउन आग्रह गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर कांग्रेसको धारणा राखेका हुन् ।
“सत्तारुढ नेकपाको केन्द्रीय कार्यालय नियम र नैतिकता विपरीत सरकारी जग्गामा रहेको समाचारले नेपाली कांग्रेसलाई अचम्मित र दुःखी तुल्याएको छ,” कांग्रेसले भनेको छ, “सरकारी जग्गाको भोगचलनसँग सम्बन्धित नीति नियमको पालनामा स्वयं सत्तारुढ दलले गम्भीरता राख्दैन भने अरुका लागि उपदेशको नैतिकता कारुणिक बन्न पुग्दछ । हामी आशा गर्छौं, यस्तो गम्भीर गल्तीप्रति क्षमायाचना गर्दै नेकपाले तत्काल सरकारी जग्गाबाट बाहिरिएर नीति, नियम र नैतिकतालाई थप लज्जित बन्नबाट जोगाउने छ ।”

कांग्रेसले आफूलाई हेर्ने नेकपाको दृष्टिकोणप्रति दया लागेको टिप्पणी पनि गरेको छ । नेकपाको प्रतिवेदनबारे पार्टीको जारी बैठकबाट थप धारणा आउने भन्दै उनले नेकपाको कांग्रेसप्रतिको दृष्टिमा नै दोष रहेको बताए । उनले भने, “त्यो दस्तावेजमा कांग्रेसबारे इमान्दार दृष्टि होइन, बरु दृष्टिदोष प्रस्तुत छ । दृष्टिउपर दृष्टिकोण व्यक्त गर्न मिल्छ, दृष्टिदोषमाथि केवल दयामात्र । म विनम्र ढंगले दया व्यक्त गर्न चाहन्छु ।”
सत्तारुढ नेकपाले कांग्रेसलाई जनताको मुख्य शत्रु करार गरेपछि प्रवक्ता शर्माले यस्तो टिप्पणी गरेका हुन् । ‘नेपाली कांग्रेस नेपाली पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने पार्टी हो । सामन्तवाद विरोधी पुँजीवादी क्रान्तिको नेतृत्व गर्ने अवसर पाए पनि ढुलमुले, सम्झौतापरस्त र दलाल प्रवृत्तिको कारणबाट यसको नेतृत्वमा लोकतान्त्रिक क्रान्तिले पूर्णता प्राप्त गर्न सकेन,’ नेकपाको राजनीतिक दस्तावेजमा भनिएको छ ।
नेपाली कांग्रेसले स्थापनाकालदेखि नै लोकतन्त्र, संसदीय प्रणाली, समावेशीता, स्वतन्त्र प्रेस, निष्पक्ष न्यायालय, निजी सम्पत्ति र व्यक्तिगत स्वतन्त्रता आदिको स्थापना र सम्वद्र्धनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको शर्माको भनाइ थियो । बल प्रयोगबाट सत्ता हासिल गर्ने र सर्वहाराको अधिनायकवाद स्थापना गर्ने सपना देखेका कम्युनिष्ट पार्टीहरुलाई पनि कांग्रेसले सोही मान्यता र मार्गमा डो¥याउने प्रयत्न गर्दै आएको शर्माले स्मरण गराए । “यो मान्यताले प्रतिस्पर्धी शक्तिहरुलाई पनि सदैव मित्रशक्तिका रुपमा सद्व्यवहार गर्दै आएको छ । हामी विश्वस्त छौं, यो मान्यता बमोजिमको मानसिकता निर्माण गर्ने सामथ्र्य विकास गर्न सकेका दिन सत्तारुढ कम्युनिष्ट पार्टीको दृष्टिदोषको समाधान हुनेछ,” उनले भने ।
केन्द्रीय कार्यसमितिको जारी बैठकले पार्टीको घरेलु जीवनका सम्बन्धमा र राष्ट्रिय राजनीतिका ज्वलन्त मुद्दाहरुबारे आवश्यक महत्वपूर्ण निर्णयहरु गर्न लागेको उनले जानकारी दिए । कांग्रेसले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलका क्रममा रहेको ‘निजामति सेवाको गठन, सञ्चालन र संवादका शर्त’ सम्बन्धी विधेयकको दफा १२० को उपदफा ६ ले आधिकारिक ट्रेड यूनियनबाहेक अन्य कुनै पनि यूनियन वा निजामति कर्मचारीको समूहले आफ्ना हकहितका लागि मागसमेत प्रस्तुत गर्न नपाउने व्यवस्था संविधानले प्रत्याभूत गरेको अधिकार विपरीत रहेको प्रष्ट्याएको छ ।
उसले भनेको छ– “ट्रेड यूनियनलाई व्यवस्थित र व्यवहारिक बनाउने विषयमा छलफल गर्न सकिन्छ । तर, तिनलाई घुमाउरो ढंगले प्रतिवन्धित नै गर्ने नियतसँग सम्झौता गर्न सकिन्न । नेपाली कांग्रेस मुलुकमा लोकतन्त्र स्थापनाका लागि योगदान गरेका सबै संस्था जो मुलुकको समृद्धिका लागि महत्वपूर्ण सहयात्री छन् र हुन सक्छन्, तिनलाई निरुत्साहित र निषेध गर्ने कुनै पनि कदमका विरुद्धमा छ र रहने छ ।”
कांग्रेसले गोंगबुस्थित नयाँ बसपार्कको प्रकरणप्रति गम्भीर ढंगले ध्यानाकर्षण भएको जनाउँदै तथ्यहरुको गहिरो अनुसन्धान गरेर आवश्यक कारवाही प्रकृया अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग आग्रह गरेको छ ।

 


सातामा धेरै पढिएको